२ पटक दर्शकलाई झुट बोलेका प्रकाशको फेरि विश्वास गर्न सकिएला ?

गायकबाट नायक बनेका प्रकाश सपुत अभिनीत फिल्म ‘परदेशी २’ यो वर्षको दशैँमा रिलिज हुनुपर्ने हो । तर, ‘प्रेमगीत ३ र २ नम्बरी’ को बीचमा पर्ने भएपछि यसका निर्माता राजेश वंशलले फिल्मको प्रदर्शन मिति फागुनको ५ गते पुर्‍याए । 

तर, फागुनको ५ गते पनि ‘फूलबारी’ फिल्म रिलिज हुने भएपछि यसका निर्माता बंशलले रिलिज गर्न सकेनन् । दुई पटक सम्म अन्य फिल्मको डरले निर्माता बंशलले आफ्नै प्रोजेक्टमाथि विश्वास गर्न सकेनन् । 

अब, यो फिल्मका नायक प्रकाश सपुत र कलाकार रमा थपलियाले एक भिडियो तयार गरेका छन् । यो भिडियोमा प्रकाशले धेरै समस्या भएकाले अब भने कात्तिक ३ गते दशैँमा आउने वाचा गरेका छन् । 

प्रकाशले यसअघि पनि पत्रकार सम्मेलन नै गरेर फिल्म यो वर्षको दशैँमा आउने बताएका थिए । यस कारण, अब आउने दशैँमा पनि यो फिल्म रिलिज हुन्छ भनेर पत्याउने आधार के ?

किनकि, यो मितिमा फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ पनि रिलिज हुँदै छ । अब, कुनै विदेशी फिल्म पनि यो मितिमा आउने निश्चित छ । यस्तो अवस्थामा फेरि नारायण रायमाझीको निर्देशनमा तयार भएको फिल्मका मेकरले दर्शकलाई झुक्याउँदैनन् भन्ने के आधार छ ?

प्रकाश सपुतले यस पटक त वाचा नै गरेकाले दर्शक पनि दशैँमा फिल्म रिलिज हुनेमा आशावादी छन् । तर, निर्माण टिमको विश्वास गरिहाल्ने ठाउँ भने छैन ।