‘पशुपति प्रसाद २’ रिलिजसम्म रहस्य केही बाँकी रहला र ?


फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’को छायांकन सुरु भएको ४ दिन भयो । चैत्रको १० गतेबाट सुरु भएको छायांकन एक महिनासम्म पशुपतिनाथ परिसरमा जारी रहनेछ । 

तर, फिल्मको टिमले दर्शकका लागि कुनै पनि रहस्य बाँकी नराख्ने देखिएको छ । फिल्मको छायांकन भएको दिनमा नै ‘पशुपति प्रसाद’का मुख्य कलाकार खगेन्द्र लामिछानेको तस्विर बाहिरियो । जहाँ, उनको तस्विरमा माला लगाइएको छ । यसबाट पनि खगेन्द्रको भूमिका फिल्ममा फ्ल्यास ब्याकमा छ भन्ने वुझ्न समय लाग्दैन । 

फिल्मको छायाङ्कनको सेटबाट नायिका स्वस्तिमा खड्काको गेटअप पनि बाहिरियो । स्वस्तिमाको गेटअप यदि फिल्मको फस्टलुकमा सार्वजनिक भएको भए, त्यसले तहल्का नै मच्याउने थियो । तर, निर्माणपक्षले फिल्ममा दुर्गा माता बनेकी स्वस्तिमाको तस्विर मिडिया बोलाएर सार्वजनिक गरिदियो । पशुपतिनाथ परिसरमा पूजा गर्न पुग्ने भक्तजनहरूबाट पनि उनको लुक लुकाउन निर्माणपक्षले सकेन । 

फिल्ममा अब नायक सौगात मल्लको मात्र लुक्स सार्वजनिक हुन बाँकी छ । यो लुक्स पनि सार्वजनिक चाँडै हुने कुरामा दुईमत छैन । 

दीपेन्द्र के खनाल निर्देशित फिल्म आउँदो बर्षको कात्तिक ४ गतेबाट रिलिज हुँदैछ । फूलपातिको अवसरमा रिलिज हुने फिल्मलाई लिएर दर्शकमा कौतूहलता र उत्साह छ । तर, फिल्मको सेटबाट दैनिक रुपमा बाहिरिएका तस्विर हेर्दा लाग्छ, रिलिजसम्म दर्शकमा फिल्मलाई लिएर रहस्य बाँकी रहँदैन ।