‘भगवत् गीता’मा शक्तिशाली बन्यो विपिनको भूमिका


एक महिना भन्दा बढी समय लगाएर निर्माता सुनिल कुमार थापा र निर्देशक झरना थापाले फिल्म ‘भगवत् गीता’को जनकपुरको छायांकन सकेका छन् । अब, केही दिनको ब्रेकपछि यसको टिमले पोखराको छायांकन सुरु गर्दैछ । यसका लागि फिल्मको टिम बुधबार पोखरा जानेछ । 

निर्देशक झरना थापाले फिल्मको ६० प्रतिशत छायांकन सकिएको बताइन् । अब, पोखरामा ४० प्रतिशत दृश्य खिचिने  उनको भनाई छ । 

सोमबार आफ्नो जन्मदिन मनाउने क्रममा झरनाले ‘भगवत् गीता’को हालसम्म छायांकन भएको दृश्यलाई लिएर सन्तुष्टी जनाइन् । फिल्मको फस्टलुक र टिजर नायिका सुहाना थापाको जन्मदिनमा सार्वजनिक गर्ने तयारी निर्माणपक्षको छ । 

यो फिल्ममा सुहाना थापाको जोडीको रुपमा नायक धिरज मगरले काम गरिरहेका छन् । फिल्ममा नायक विपिन कार्कीको पनि मुख्य भूमिका छ । श्रोतका अनुसार, फिल्ममा विपिनको शक्तिशाली भूमिका छ । संझौता भएको समयमा भन्दा अहिले विपिनको भूमिका पनि निकै बढेको वुझिएको छ । 

विपिन फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’को छायांकनमा व्यस्त छन् । यो फिल्मपछि विपिन ‘भगवत् गीता’को छायांकन सेटमा जोडिनेछन् । झरनाले  निर्देशन गरेका ‘ए मेरो हजुर २, ए मेरो हजुर ३ र ए मेरो हजुर ४’ बक्स अफिसमा हिट भए । उनी, सिक्वेल फिल्म छाडेर नयाँ नाममा प्रवेश गरेकी छिन् ।