‘नाङ्गो गाउँ’को छायांकन सुरु, कार्मसँग रोमान्टिक बनिन् साम्राज्ञी


निर्देशक दीपेन्द्र लामाको निर्देशनमा फिल्म ‘नाङ्गो गाउँ’को छायांकन काभ्रेको बेथान चोक गाउँपालिकामा धमाधम भइरहेको छ । चैत्रको १० गतेबाट सुरु भएको छायांकन ३५ दिनसम्म चल्ने निर्देशक लामाले जानकारी दिए । फिल्मको छायांकनमा मुख्य कलाकारहरू दयाहाङ राई, सम्राज्ञी राज्यलक्ष्मी शाह, कार्म, शिशिर बाङ्देल व्यस्त छन् । 

निर्माण पक्षले उपलब्ध गराएको तस्विरमा दयाहाङ राई र शिशिर गफ गर्दै गरेको देख्न सकिन्छ । यस्तै, नायक कार्म नायिका सम्राज्ञी राज्यलक्ष्मी शाहसँग रोमान्टिक देखिएका छन् ।

फिल्ममा वुद्दि तामाङ, पुष्कर गुरुङ लगायतका कलाकारको पनि मुख्य भूमिका छ । यस्तै, फिल्मकी मुख्य नायिका मिरुना मगरको भने दृश्य छायांकन नभइसकेको निर्देशक लामाले जानकारी दिए । 

मनिष्मा फिल्मसको ब्यानरमा निर्माण भइरहेको यो फिल्मको प्रस्तुतकर्ता हिमाल शर्मा हुन् भने जय श्रेष्ठ यसका निर्माता हुन् ।   फिल्ममा आलोक शुक्लाको छायांकन छ । 

निर्देशक लामाले निर्देशन गरेको ‘२ नम्बरी’ यो बर्षको सुपरहिट फिल्म हो । उनले ‘घामपानी, गोपि, छ माया छपक्कै’ लगायतका फिल्म पनि निर्देशन गरिसकेका छन् । लामाको फिल्ममा समाजमा देखिएको कुनै एक विषयलाई प्रस्तुत गरिएको हुन्छ ।