अनमोलको ‘जेरीः २’ किन बन्यो ‘जेरीः अन टप’ ?


निर्देशक हेमराज वीसीले नयाँ फिल्म ‘जेरी अन टप’को छायांकन वैशाखबाट सुरु गर्ने तयारी गरेका छन् । 

उसो त, यो फिल्मको नाम ‘जेरी २’ राखिएको थियो । तर, निर्माण पक्षले सार्वजनिक गरेको पछिल्लो थिम पोष्टरमा भने नाम ‘जेरी अन टप’ राखिएको छ । चलचित्रमा ‘जेरी’कै कलाकारहरू नायक अनमोल केसी र नायिका अना शर्माको मुख्य भूमिका रहनेछ । 

चलचित्रका नायक अनमोल केसी, निर्माता सरोज न्यौपानेसहितको टिम पोखरा पुगेर पनि फर्किसकेको छ । निर्माताले ‘जेरी २’ नराखेर किन ‘जेरी अन टप’ राखेका होलान् भन्ने कौतूहलता पनि दर्शकमा हुनसक्छ । 

वुझिएअनुसार, ‘जेरी’का निर्माताले ‘जेरी २’ नाम राख्न नदिएपछि सरोजले ‘जेरी अन टप’ राखेका हुन् । निर्मातालाई ‘जेरी २’ राख्दा फाइदा हुने पक्का छ । तर, उनीहरुबिच आन्तरिक कुरा नमिलेपछि नामको पछाडि ‘अन टप’ थपिएको हो ।

यो फिल्मलाई लभ स्टोरी र यात्राको कथामा निर्माण गर्न लागिएको हो । नायक अनमोल केसी र निर्देशक हेमराज वीसी एक अर्काका लागि लक्की मानिन्छन् । यसैले, दुवै जनाका लागि ‘जेरी अन टप’ विशेष हुने पक्का छ ।