आधा दर्जन फिल्मको धमाधम छायांकन


नेपाली फिल्मले कमजोर व्यापार गरेको समीक्षा हरेक बर्षको अन्त्यमा हुने गरेको छ । तर, फिल्मको निर्माणको क्रम भने घटेको छैन । आउँदो बर्ष रिलिज गर्ने गरि निर्माताहरू धमाधम फिल्मको छायांकन गरिरहेका छन् । 

फिल्म ‘जय हो’को छायांकन केही दिन अगाडि बाट पोखरामा भइरहेको छ । सलोन बस्नेत, अर्पण थापा, निशा अधिकारी, केकी अधिकारी लगायतका कलाकारको अभिनय रहेको फिल्मको छायांकन पोखरा र मुस्ताङमा हुनेछ । शोभित बस्नेको प्रस्तुतिमा तयार भइरहेको फिल्म अर्को बर्षको भदौ ५ गते रिलिज हुनेछ । 

यस्तै, निर्देशक दीपेन्द्र लामाको निर्देशनमा फिल्म ‘नाङ्गो गाउँ’को छायांकन पनि विगत ५ दिनदेखि काभ्रेमा भइरहेको छ । फिल्ममा दयाहाङ राई, साम्राज्ञी राज्यलक्ष्मी शाह, मिरुना मगर, कार्म, वुद्दि तामाङ लगायतका कलाकारले काम गरिरहेका छन् । हिमाल शर्माको प्रस्तुतिमा तयार भइरहेको यो फिल्मका निर्माता जय श्रेष्ठ हुन् । 

निर्देशक झरना थापाको निर्देशनमा फिल्म ‘भगवत् गीता’को छायांकन पनि एक महिनादेखि जारी छ । जनकपुरको सेड्यूल सकेर यसको टिमले पोखरामा छायांकन सुरु गर्दैछ । सुनिलकुमार थापाको लगानीमा बनिरहेको फिल्ममा विपिन कार्की, सुहाना थापा, धिरज मगर मुख्य भूमिकामा छन् । 

फिल्म ‘अ‍ैचो पैँचो’को छायांकन सुरु भएको पनि एक महिना बढी भयो । झापाको छायांकन सकेर निर्देशक कृषा चौलागाईंले काठमाडौंमा फिल्मको इनडोर छायांकन गरिरहेकी छिन् ।

फिल्ममा स्वस्तिमा खड्का, वर्षा राउत, सुशील सिटौला लगायतका कलाकारको अभिनय छ । 

फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’को छायांकन पशुपतिनाथ परिसरमा चैत्र १० गतेबाट सुरु भएको छ । दीपेन्द्र के खनालको निर्देशनमा भइरहेको फिल्मको छायांकनमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का लगायतका कलाकारले काम गरिरहेका छन् । यो फिल्मलाई आउँदो बर्षको कार्तिक ४ गतेबाट रिलिज गर्ने तयारी निर्माण पक्षको छ । 

वैशाखको १ गतेबाट रिलिज हुन लागेको फिल्म ‘नाई नभन्नु ल ६’को छायांकन अझै पनि जारी छ । काठमाडौंमा केही एक्सनको दृश्यको छायांकन भइरहेको निर्माणपक्षले बताएको छ ।

विकासराज आचार्यको निर्देशनमा तयार भएको फिल्ममा आँचल शर्मा, आर्शिवाद क्षेत्री, प्रियंका कार्की, केकी अधिकारी लगायतका कलाकारको मुख्य भूमिका छ । 

हामीलाई प्राप्त भएको जानकारी अनुसार, ६ वटा फिल्मको धमाधम छायांकन भइरहेको छ । यी बाहेक केही निर्माता फिल्मको छायांकन सुरु गर्ने तयारीमा छन् । यसैले, अर्को बर्ष पनि ४ दर्जन भन्दा बढी फिल्म रिलिज हुने पक्का जस्तै देखिएको छ ।