आँचलजी, सिपोराको गोपनियताको ख्याल राख्नु पर्दैन ?

नायिका आँचल शर्मा बोल्नमा सिपालु छिन् । तर, कहिलेकाहीँ बोल्दा बोल्दै चिप्लने उनको पुरानो बानी हो ।  हालै मात्र उनले प्रकाश सुवेदीसँग दिएको एक अन्तवार्तामा भलिबल खेलाडी सिपोरा गुरुङको विगत कोट्याएको प्रसङ्गले उनी फेरि चिप्लिएको भान हुन्छ । 

आँचललाई कार्यक्रम सञ्चालकले सिपोरा गुरुङलाई कसरी चिन्नुहुन्छ भनेर सोधेका छन् । जहाँ, उनले भलिबल खेलाडी हुनुहुन्छ भनेकी छिन् । यति मात्र हो भनेर कार्यक्रम सञ्चालकले सोधेपछि आँचलले फेरि ‘उदिपजीको पूर्व प्रेमीका हुनुहुन्छ’ भनेर जवाफ दिएकी छिन् । 

कार्यक्रम सञ्चालकले बोलचाल हुन्छ कहिलेकाहीँ भनेर सोध्दा आँचलले आफूसँग त्यति ठूलो मुटु नभएको र आफ्नो श्रीमानको पूर्व प्रेमिकासँग कसरी सम्बन्ध बनाउन सकिन्छ भनेकी छिन् । 
आफू श्रीमती भएको नाताले पनि सिपोराको तस्विर देखाउँदा आफूलाई  चित्त नबुझेको उनको तर्क छ । 

आँचल जी, तपाईँलाई सिपोरा गुरुङको गोपनीयतालाई भंग गर्ने अधिकार कसले  दियो ? तपाईँसँग आफ्नो श्रीमानको पूर्व प्रेमिकासँग बोलचाल गर्ने मुटु छैन भने सिपोरालाई पनि आफ्नो विषयमा राष्ट्रिय टेलिभिजनमा विश्वले नै थाहा पाउने गरेर विगत कोट्याएको हेर्ने र सुन्ने मुटु नहुन सक्छ नि ?

सिपोरा गुरुङ आँचलका श्रीमानका पूर्व प्रेमीका हुन् भन्ने कुरा मिडियामा सार्वजनिक भएको थिएन । तर, आँचलले सिपोराको व्यक्तिगत गोपनीयतासँग खेल्दै विश्वलाई यसको बारेमा जानकारी दिइरहेकी छिन् । ‘भलिबल खेलाडी हुन्’ भनेर मात्र चिन्दा आँचलको पनि केही बिग्रने थिएन । तर, आँचलले आफ्नो विगत केही पनि नभएको बताउँदै गर्दा सिपोरालाई भने उदीप श्रेष्ठको पूर्व प्रेमीका भनेर खुलेआम प्रचारबाजी गरिदिएकी छिन् ।