भुवन केसीको हस्तक्षेपपछि ‘जेरी अन टप’को निर्माण अन्यौलमा


फिल्म ‘छड्के २’मा काम गर्ने नायक अनमोल केसीको निर्णयले उनको करिअरलाई नै ठूलो घाटा लाग्यो । अनमोलले यो फिल्ममा काम गर्ने निर्णय आफै लिएका थिए । तर, अनमोलले आफै लिएको निर्णयले फाइदा नभएपछि उनका पिता भुवन केसीले उनी माथिको हस्तक्षेप अझै बढाएका छन् । 

श्रोतका अनुसार, भुवनले नेपालका केही नाम चलेका निर्देशकलाई घरमै बोलाएर अनमोलसँगको सहकार्यको विषयमा कुराकानी समेत गरेका छन् । वुझिएअनुसार, अनमोल केसीले अभिनय गर्ने भनिएको फिल्म ‘माइतीघर २’लाई सफल निर्देशक रामबाबु गुरुङले निर्देशन गर्दैछन् । पाइप लाइनमा अनमोल केसीको ३ वटा फिल्म छन् । तर, कुन फिल्मको छायांकन पहिले हुन्छ, कुन फिल्म बन्छ भन्ने अझै पनि अन्योल छ । 

हेमराज वीसीको निर्देशनमा तयार हुने भनिएको फिल्म ‘जेरी अन टप’को निर्माण समेत अन्योलमा परेको बुझिएको छ । यो फिल्मको छायांकन वैशाखबाट सुरु गर्ने निर्माण पक्षको तयारी थियो । 

तर, अनमोलले वर्कशपमा सहभागी हुँदा सुनेको स्क्रिप्टलाई निर्माणपक्षले केही फेरबदल गर्यो । फाइनल स्क्रिप्ट सुनाउने क्रममा वर्कशपमा सुनाइएको स्क्रिप्ट भन्दा फरक भएपछि भुवन केसीले हस्तक्षेप गरेको श्रोत बताउँछ । भुवन केसीले पहिलेको  स्क्रिप्टमा फेरबदल भएपछि अब अनमोलले काम नगर्ने भन्दै निर्माण पक्षलाई जवाफ दिएका थिए । यसैले, अब ‘जेरी अन टप’को निर्माण नै अन्योलमा परेको छ । 

फिल्म साइन गरेर छाड्न माहिर मानिएका अनमोल केसीले अब ‘पारस’को तयारी पनि गरिरहेको बुझिएको छ । यसका लागि भुवन केसीले लेखक प्रदीप भारद्वाजसँग फाइनल स्क्रिप्ट मागेका छन् । 

भुवनले यो फिल्म आफै निर्देशन गर्ने तयारी समेत गरेका छन् । ‘छड्के २’ असफल भएपछि अनमोल चर्को दबावमा छन् । यसैले, उनले कुन फिल्ममा काम गर्ने अझै फाइनल गर्न सकेका छैनन् ।