‘यो अध्यक्ष’लाई वास्तविक कलेक्शन देखाइदिनुहोस् न त दीपकजी !

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अब हरेक महिना फिल्मको कलेक्शन सार्वजनिक गर्ने बताएका छन् । विकास बोर्डले यो वर्ष रिलिज भएका सबै फिल्मको कलेक्शन सार्वजनिक गरिदिए पछि फिल्म क्षेत्रमा तरंग नै  उत्पन्न भएको छ । फेक कलेक्शन सार्वजनिक गर्दै दर्शक र मिडियालाई झुक्याउँदै आएका केही फिल्मकर्मीको निन्द्रा बिग्रिएको छ । 

फिल्म ‘छक्का पन्जा ४’को कलेक्शन केही साता अगाडि नै यसको टिमले १८ करोड माथि पुर्‍याइसकेको थियो । बजारमा त ‘छक्का पन्जा ४’ले ‘कबड्डी ४’को २२ करोडको व्यापार ब्रेक गर्न लागेको चर्चा समेत चलाइएको थियो । 

तर, विकास बोर्डले सार्वजनिक गरेको आँकडामा ‘छक्का पन्जा ४’ को व्यापार १७ करोड आसपासमा मात्र छ । यो  रिपोर्ट सार्वजनिक भएपछि सबैभन्दा बढी आक्रोश नै दीपकराज गिरी र उनको टिमको छ । 

दीपकराज गिरीले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई तल्लो स्तरको भाषा प्रयोग गर्दै ‘यो अध्यक्ष आएपछि’ भनेर उल्लेख गरेका छन् । 

विकास बोर्डले बक्स अफिस डाटाबाट कलेक्शन भएको आँकडा सार्वजनिक गरेको हो । यदि, बोर्डको रिपोर्टमा आपत्ति छ भने, दीपकराज गिरी र उनको टिमले वास्तविक आँकडा दर्शक र मिडियासामु प्रस्तुत गर्नुपर्छ । 

फिल्मको वास्तविक आँकडा सार्वजनिक गर्ने हिम्मत दीपकराज र उनको टिमले गर्ने हो भने बोर्डको आँकडाको सत्यता थाहा भइहाल्छ । बोर्डको रिपोर्टलाई झूट बताएर अध्यक्षमाथि नै ‘यो’ शब्द प्रयोग गरेका दीपक राजसँग वास्तविक रिपोर्ट सार्वजनिक गर्ने हिम्मत छ या छैन होला ?