कटरीना र दीपिकाबीच प्रतिष्पर्धा !

सन् १९९० को सांगीतिक प्रेमकथाको फिल्म ‘आशिकी’मा राहुल रोय र अनु अग्रवालको जोडीको रोमान्स दर्शकले हेरेका थिए । यसको सिक्वेल ‘आशिकी २’मा आदित्य रोय कपूर र श्रद्धा कपूरको रोमान्टिक जोडीलाई दर्शकले मनपराएका थिए ।

अहिले निर्माताहरु यसको तेस्रो सिक्वेल ‘आशिकी ३’ निर्माण गर्दैछन् । फिल्ममा अभिनेता कार्तिक आर्यन प्रमुख भूमिकामा छन् । यो वर्षको डिसेम्बरबाट छायांकन सुरु हुने फिल्मका लागि अहिलेसम्म अभिनेत्री फाइनल भइसकेका छैनन् ।

पछिल्लो चर्चा अनुसार फिल्ममा कटरीना कैफ र दीपिका पादुकोणको नाम जोडिएको छ । यी दुईमध्ये कोही एकसँग कार्तिकले रोमान्स गर्ने भएका छन् । ‘फिल्ममा कार्तिकले पहिल्यै नै रोमान्स गरेका अभिनेत्रीसँग पुनः रोमान्स गर्ने छैनन् । फिल्ममा नयाँ अनुहारको पनि अभिनय हुने छैन । किनकी फिल्ममा अभिनेत्रीको भूमिका दमदार छ । त्यसकारण दीपिका वा कटरीनामध्ये कोही एक फाइनल हुने सम्भावना छ’, फिल्म निकट स्रोतले भनेको छ ।

दीपिका र कार्तिकले अहिलेसम्म सहकार्य गरेका छैनन् । त्यहीकारण उनीहरु काम गर्न इच्छुक छन् । ‘आशिकी ३’ निर्देशक अनुराग बसुले अभिनेत्री कटरीनासँग यसअघि फिल्म ‘जग्गा जासुस’मा काम गरिसकेका छन् । त्यहीकारण निर्देशक अनुराग पुनः कटरीनासँग सहकार्य चाहन्छन् ।