कमेडीको वाहवाही, डब्बामा स्टारडम

हरेक वर्ष फिल्म रिलिज हुन्छन्, जान्छन् । कतिले कमाउँछन् त कतिले गुमाउँछन् । निर्माताले पैसामात्र गुमाउँदैनन्, निर्देशकदेखि कलाकार र प्राविधिकसम्मले आफ्नो मेहनत नै गुमाउँछन् । तर पनि फिल्म निर्माण, निर्देशन, अभिनय र प्राविधिक पाटोको काम रोकिएको छैन ।

फिल्मको सफलताको मापक बक्सअफिस नै हो । एक वर्षमा झण्डै सयको हाराहारीमा फिल्म रिलिज हुँदा उल्लेख्य कमाउने, औषत कमाउने र निर्माताको हातमा पर्ने शेयर रकम सुन्दा ‘जिब्रो नै टोक्नुपर्ने’ फिल्मको संख्यात्मक अनुपात केही फरक छ ।

वर्ष २०७९ कै कुरा गरौं । वर्ष २०७९ मा तीन फिल्म ‘कबड्डी ४’, ‘छक्का पन्जा ४’ र ‘महापुरुष’ सर्वाधिक कमाउने फिल्मको अग्रपङ्क्तिमा रहे । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यी फिल्मले क्रमशः २१ करोड ३८ लाख, १६ करोड ९४ लाख ३४ हजार ६ सय ३४ र ७ करोड ३८ लाख ९० हजार ६ सय ७० रुपैंयाँ ग्रस कलेक्सन गरे । फरक फरक कथामा निर्माण भएका यी तीन फिल्मको प्रमुख जनरा कमेडी नै थियो ।   

यीबाहेक ‘झिँगेदाऊ’, ‘के घर के डेरा’, ‘दुई नम्बरी’ जस्ता कमेडी फ्लेभरका फिल्मले बक्सअफिसमा इज्जत जोगाए । त्यस्तै ‘ए मेरो हजुर ४’, ‘प्रेमगीत ३’ र ‘फूलबारी’ले पनि लगानीलाई सुरक्षित गरे । उठाए । कोभिड महामारीपछि विस्तारै फिल्म क्षेत्र तङ्ग्रिरहँदा कोभिड अघिको फिल्मको गिर्दो अवस्थालाई २०७९ ले केही हदसम्म बिर्साइदियो ।

आशलाग्दा असफल

२०७९ मा रिलिजअघि केही फिल्म चर्चामा आए । दीपेन्द्र के खनालको ‘चिसो मान्छे’, खगेन्द्र लामिछानेको ‘पानीफोटो’, अनुप बरालको ‘दोख’, सुजित बिडारीको ‘ऐना झ्यालको पुतली’, सुवर्ण थापाको ‘राधा’, दिनेश राउतको ‘प्रकाश’ जस्ता फिल्म पोस्टरसँगै चरित्रका कारण चर्चामा थिए । पोस्टर र चरित्रको जति चर्चा भए पनि फिल्मले बक्सअफिसमा पैसाको चर्चा उल्लेख्य गर्न पाएनन् । यी फिल्ममा नेपाली फिल्ममा नाम चलेकै अनुहारको बाक्लो उपस्थिति देखिए पनि फिल्मले बाक्लो संख्यामा दर्शकलाई हलमा तान्न सकेन ।

डब्बामा स्टारडम

स्टारभ्यालू अर्थात स्टारडम भएका जोकोही कलाकारलाई निर्माताहरु लाखौं रकम खर्च गर्न पछि पर्दैनन् । तर तिनै स्टारभ्यालू अर्थात स्टारडम भएका कलाकारले भने निर्मातालाई आफ्ना लागि लगानी गरेको पैसा फिर्ता दिन प्रायः असफल नै रहन्छन् । यो अहिले होइन, दशकौं अघिदेखि चलिआएको चलन नै हो ।

२०७९ स्टारडमको मामलामा ‘डब्बा’मै पुग्यो भन्दा फरक नपर्ला । यो वर्ष स्टारडम बोकेका अभिनेता प्रदीप खड्काको ‘प्रेमगीत ३’ र अनमोल केसीको ‘ए मेरो हजुर ४’ ले दर्शकलाई हलसम्म ताने । तर दुःखको कुरा नै भन्नुपर्छ, अनमोलकै अभिनय रहेको फिल्म ‘छड्के २’ बक्सअफिसमा यति नराम्रोसँग फ्लप भयो कि अनमोलले नै फेसबुकमा स्टाटस लेखेर माफी माग्नुपर्यो । अभिनय करियरको नवौं फिल्ममा आइपुगेर अनमोलले पहिलोपटक माफी मागेका हुन् । अभिनेता पुष्प खड्काको अवस्था उस्तै रह्यो । उनी अभिनित फिल्म ‘कृष्णलिला’ र ‘मनसँग मन’ बक्सअफिसमा फ्लप साबित भयो ।

यता सुपरस्टार नायिका ट्याग पाएकी अभिनेत्री पूजा शर्माको पनि हालत दयनीय देखियो । उनले अभिनय गरेका फिल्म ‘सम्झना विर्सना’ र 'सम्हालिन्छ कहिले मन' चलाउन धरै तिक्डम गरेको पाइए पनि यी फिल्मले खासै दम्भ देखाउन सकेनन् ।

यो वर्ष हरिवंश आचार्य, दयाहाङ राई, दीपकराज गिरीले आफ्नो स्टारडमलाई जीवित नै राखे । हरिवंश अभिनीत ‘महापुरुष’ हिट हुँदा दयाहाङले ‘कबड्डी ४’, ‘के घर के डेरा’, ‘२ नम्बरी’जस्ता फिल्मबाट आफ्नो साख जोगाए । दीपकले भने आफ्नै समूहबाट निर्माण भएको फिल्म ‘छक्का पन्जा ४’बाट आफ्नो इज्जत घटाउन दिएनन् ।

२०८० को आश नयाँवर्ष २०८० ले शुक्रबारबाट पाइला चालेको छ । नयाँवर्षको पहिलो दिन अर्थात वैशाख १ गते रिलिज भएका तीन फिल्म ‘जारी’, ‘बिहे पास’ र ‘बुलाकी’मध्ये ‘जारी’मा सर्वाधिक दर्शकको चाप छ । थिएटरले पनि यो फिल्मलाई उच्च शो दिएको छ । यो वर्ष 'पशुपतिप्रसाद २ : भष्मे डन'’, ‘नाई नभन्नू ल ६’, ‘ज्याकी आइ एम ट्वान्टी वान’, ‘परदेशी २’,लगायतका आशा लाग्दा फिल्म प्रदर्शन हुँदैछन् । यी फिल्मले बक्सअफिसमा के कस्तो व्यापार गर्लान्, त्यो त रिलिजपछिको समयले नै बताउनेछ ।