प्रकाश सपुत के देखाइरहेका छन् ?


गायक प्रकाश सपुतको स्वरमा समावेश ‘सकम्बरी’ रिलिज भएको ३ दिन मात्र भयो । यो गीतले युट्युबमा त करिब ४० लाख भ्यूज बटुलिसकेको छ । सामाजिक संजाल टिक टक खोल्यो भने यो गीत मात्र बजेको देखिन्छ । गीतको शब्दमा भिडियो बनाउनेहरू पनि बाक्लै छन् । 

प्रकाशको यो गीतले कला क्षेत्रमा लाग्नका लागि एक युवतीले कसरी आफ्नो देह बेच्नु पर्दछ भन्ने कथा भन्छ । भिडियोमा अझ, प्रकाशले स्पष्ट सँग कला क्षेत्रमा देह बेच्नुपर्ने वाध्यताको कथालाई उठान गरेका छन् । गीतको अडियो सशक्त छ । अडियोसँगै भिडियोको पनि प्रशंसा भइरहेको छ । 

तर, यो गीतलाई लिएर विरोधका स्वरहरु पनि सुनिन थालेका छन् । गायक प्रकाश सपुतले यस अगाडि सार्वजनिक गरेको ‘पीर’ बोलको गीतमा पनि एक पूर्व महिला छापामारले काठमाडौंमा जीवन जिउनका लागि देह व्यापार गर्नु परेको दृश्य समावेश गरिएको थियो । पछि, चर्को विरोध भयो र प्रकाशले गीतबाट दृश्य हटाए । उनले, १ करोड भ्यूज बटुलेपछि मात्र भिडियोबाट सो दृश्य हटाएका थिए । 

अहिले फेरि प्रकाशले त्यस्तै भावना देखाएका छन् । जहाँ, एक युवतीले काठमाडौंमा आएर मोडलिङ गर्न चाहेको तर पुरुषहरूले उनलाई देह पनि बेच्नुपर्ने वाध्यतामा पुर्याएको देखाइएको छ । 

यो गीतको भिडियोलाई लिएर आलोचना पनि प्रशस्त सुनिन थालेको छ । कला क्षेत्रको विषयमा आम मानिसमा पर्दै गएको सकारात्मक प्रभावलाई यो गीतले धमिल्याउने भन्दै केही मानिसहरूले आलोचना पनि गरेका छन् । कतिपयले भने प्रकाशले बारम्बार आफ्नो गीतबाट आँसु र भावना बेचेको आरोप समेत लगाउने गरेका छन् । 

पछिल्ला केही बर्षयता लोकसंगीतमा प्रकाश सपुतको क्रेज निकै माथि पुगेको छ । तर, लोकप्रियताको चुचुरोमा पुगेका सपुतले गीतमार्फत आम सकारात्मक भन्दा नकारात्मक सन्देश बढी दिन थालेको भन्दै आलोचना सुरु भएको छ । यो विषयमा गायक सपुतको पक्कै पनि भनाई सार्वजनिक होला । 

तर, प्रकाशको यो गीतले सामाजिक संजालमा भने सार्वजनिक भएसँगै कब्जा भने जमाएको छ ।