अनमोललाई राहत

गतबर्ष रिलिज भएको फिल्म ‘ए मेरो हजुर ४ र छड्के २’ले बक्स अफिसमा कमजोर व्यापार गरेपछि नायक अनमोल केसी समस्यामा छन् । अनमोल केसीले अब कुन फिल्ममा काम गर्छन् भन्ने चासो पनि उनका फ्यानहरुलाई छ । 

अनमोल केसीले ‘छड्के २’ आफ्नै रोजाइमा गरेका थिए । तर, यही फिल्म उनको करिअरकै कमजोर साबित भएपछि उनका पिता भुवन केसी आक्रोशित छन् । एक भेटमा मेरो फिल्मसँग कुरा गर्दै भुवनले आफूले अनमोललाई ‘छड्के २’मा काम गरेको भन्दै कैयौं पटक गाली गरेको बताए । यसैले, अहिले अनमोलको करिअरका लागि भुवन आफै गम्भिर देखिएका छन् । 

अनमोल केसीले नायिका पूजा शर्माको ब्यानरमा बन्न लागेको फिल्ममा काम गर्ने पक्का भएको थियो । तर, अब यो फिल्मको निर्माण पछि सरेको छ । फिल्मको लागि अनमोल केसीले १० लाख रुपैयाँ फिर्ता गरिसकेका छन् । 

अनमोलले नै साइन गरेको फिल्म ‘जेरीः अन टप’को निर्माण पनि अन्यौलमा देखिएको थियो । तर, यो फिल्मको छायांकन वैशाख २५ गतेबाट सुरु हुने भएपछि अनमोल केसीलाई राहत भएको छ । हेमराज वीसीको निर्देशनमा तयार हुने यो फिल्मको छायांकन अष्ट्रेलियाबाट सुरु हुँदैछ । 

अनमोल यो फिल्मको तयारीमा व्यस्त छन् । फिल्ममा उनले नायिका आना शर्मासँग काम गर्दैछन् । 

बक्स अफिसमा हिट भएका फिल्मलाई हेर्ने हो भने पछिल्लो समयमा अनमोल जस्ता चकलेटी नायक भन्दा दयाहाङ जस्ता अर्गानिक अभिनय गर्ने नायकको दबदबा बढेको छ । यस्तो समयमा अनमोल केसीलाई दर्शक रिझाउन सहज भने छैन ।