साहरुख बन्न खोजेका आकाश

नेपाली फिल्मका मेकरले बलिउड फिल्मको कथावस्तु उतारेको खबर त अब नयाँ भएन । युट्युबमा फिल्म छ्यापछ्याप्ती आउन थालेपछि अचेल विदेशी फिल्मबाट कपी गरिहाल्न नेपाली मेकरलाई सहज छैन । यसैले, मेकरहरु अर्ग्यानिक कथा खोज्न थालेका छन् । अर्ग्यानिक कथालाई दर्शकले मन पराएका पनि छन् । 

तर, कहिलेकाहीँ नेपाली कलाकारहरू विदेशी कलाकारले फिल्मको पर्दामा वा कुनै सार्वजनिक कार्यक्रममा लगाएको पहिरनको पनि कपी गर्न खोज्छन् । उस्तै देखिन खोज्छन् । 

अब, नायक आकाश श्रेष्ठलाई नै हेर्नुहोस् न । उनले, आफ्नी रुमर प्रेमिका करुणा श्रेष्ठसँग एउटा भिडियोको छायांकन गरेका छन् । मुस्ताङमा पुगेर आकाश र करुणाले खिचेको एक भिडियोमा आकाशको पहिरनले नायक साहरुख खानले फिल्म ‘पठान’को शीर्ष गीतमा लगाएको पहिरन सम्झाउँछ । 

आकाशले बनाएको टिकटक भिडियो हेर्ने हो भने पनि उनले साहरुखको स्टाइल उतार्ने कोसिस गरेका छन् । 

झट्ट हेर्दा जोकोहीलाई आकाशले साहरुखको स्टाइल र पहिरन नै कपी गर्न खोजेको जस्तो लाग्छ । आकाशले लगाएको सर्ट, पाइन्टदेखि चश्माको स्टाइल सबै साहरुखबाट प्रभावित छ । 

आकाशको हातमा विगत केही महिनादेखि फिल्म छैन । उनले अभिनय गरेको फिल्म ‘हिँड्दा हिँड्दै’ पनि रिलिज हुने कुनै सम्भावना देखिएको छैन । तर, आकाश भिडियोमा भने व्यस्त छन् ।