हिट ‘छक्का पञ्जा ४’ले मनायो एकाउन्न दिन

गत बर्षको फागुन १९ गतेदेखि प्रदर्शनमा आएको फिल्म 'छक्का पञ्जा ४'ले प्रदर्शनको एकाउन्न दिन सफलताका साथ पार गरेको छ।

आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको यो फिल्मले शनिबार देशभरका १६ वटा हलमा प्रदर्शनको ५१ औं दिन मनाएको हो ।

डिजिटल युगमा आजभोलि नेपाली फिल्मलाई एक साता पनि हलमा टिक्न हम्मे हम्मे पर्छ । यद्यपि, वर्षमा एकाध फिल्मले प्रदर्शनको ५१ औं दिन मनाउने गरेका छन् । यसरी हलमा नेपाली फिल्मले ५१ औं दिन मनाउनु सामान्य मानिदैन । साथै, यो फिल्मले घरेलु बक्स अफिसमा २० करोड नजिकको ग्रस कलेक्सन गरेको छ। ‘छक्का पञ्जा’को यसअघिका तीन श्रृंखला पनि घरेलू बक्सअफिसमा सुपरहिट भएका थिए ।

सामाजिक बिषयमा फिल्म बनाउने दीपक-दीपाको टीमले चौथो सिरिजसम्म आइपुग्दा 'छक्का पञ्जा ४ बाट' दर्शकलाई वर्तमान समाज र राजनीतिक अवस्थालाई व्यंग्य गरेका छन्। विवाहेत्तर सम्बन्ध, सरकारी कार्यालयमा हुने भष्ट्राचार तथा ढिलासुस्ती, बेरोजगारी, मिटरब्याजीलगायतका विभिन्न पक्षलाई फिल्मले देखाउन खोजेको छ । त्यसैले त फिल्म हिट भएको छ। समग्रमा वर्ष २०७९ मा प्रदर्शन भएको यो फिल्मबाट दीपकराज गिरीले दर्शकको वाहवाही बटुले ।

फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, केदार घिमिरे (माग्ने बुढा), बुद्धि तामाङ, रमेश बुढाथोकी, नीर शाह, राज आचार्य, निर्मल शर्मा, शिशिर बाङ्गदेल लगायतका कलाकारको अभिनय छ ।

हेमराज विसीद्वारा निर्देशित यो फिल्मको पटकथा तथा संवाद दीपकराज गिरीले लेखेका हुन्। नरेन्द्र मैनालीको छायांकन रहेको फिल्मका केदारप्रसाद घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माता हुन् ।