जारीको रफ्तार उस्तै, दोस्रो सातासम्म १३ करोडको व्यापार

गत वैशाख १ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘जारी’ले प्रदर्शनको रफ्तारलाई जारी नै राखेको छ । फिल्म प्रदर्शनको १६ औं दिनसम्म पनि हलमा दर्शकको उपस्थिति बाक्लो देखिएको छ । 

स्रोतका अनुसार फिल्मले जम्मा ३६ सय २५ शो पाएको थियो । यी शोका लागि ९ लाख १ हजार १ सय ८३ टिकट उपलब्ध थिए । यीमध्ये ४ लाख १६ हजार ४ सय ७२ टिकट बिक्री भए । 

बक्सअफिस लागु भएका हलहरुको तथ्यांक अनुसार फिल्मले हालसम्म करिब १२ करोडको हाराहारीमा ग्रस कलेक्सन गरेको स्रोतको दाबी छ । ‘आजसम्म पनि जारी हेर्ने दर्शकको उपस्थिति हलमा उल्लेख्य छ । त्यसकारण यो ग्रस कलेक्सनको अनुपात यो साता अझ बढ्नेमा हामी विश्वस्त छौं’, स्रोतले भन्यो । स्रोतले हालसम्म फिल्मको अकुपेन्सी ४६ प्रतिशत रहेको जनाएको छ ।

हामीले यस विषयमा फिल्मका वितरक मनोज राठीसँग सम्पर्क गर्दा उनले आफू काठमाडौं बाहिर रहेकाले जानकारी दिन चाहेनन् ।

यस्तै वितरक प्रचण्डमान श्रेष्ठले फिल्मले दोस्रो हप्तासम्म १३ करोडको ग्रस कलेक्सन गरेको दाबी गरे । निर्माता रामबाबु गुरुङले पनि दोस्रो हप्तासम्म फिल्मले १३ करोडको ग्रस कलेक्सन गरेको स्वीकारे ।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, प्रेम सुब्बा, रोय दिप, पुष्कर गुरुङलगायतका कलाकारको प्रमुख भूमिकामा अभिनय छ । फिल्मका निर्माता रामबाबु गुरुङ हुन् ।