‘ज्याकी: आई एम ट्वान्टी वान’को प्रचारप्रसारसँगै मेयर साम्पाङसँग पाइप तान्दै धिरज र जसिता

आगामी बिहिबार अर्थात् बैशाख २१ गतेबाट प्रदर्शन हुने रेनशा राई राणा निर्देशित फिल्म ‘ज्याकी: आई एम ट्वान्टी वान’ यतिबेला चर्चामा छ । 

हालै यो फिल्मको निर्माण टिम र कलाकारहरूको टोलीले प्रचारप्रसारलाई तीब्र बनाएसँगै नेपालका विभिन्न शहरमा पुगेर फिल्मबारे जानकारी दिए ।

यस फिल्मका मुख्य कलाकार धिरज मगर र जसिता गुरुङको साथ प्रचारमा हिडेको निर्माण टिमले हिजो मात्रै धरान पुगेको थियो ।

फिल्मको टिम धरान पुगेसँगै धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङसँग भेटघाट गरेको छ । मेयर साम्पाङले चलाएको अभियानमा सहभागी हुँदै कलाकारद्वय धिरज र जसिताले खानेपानीको पाइप तान्न सहयोग गरेका थिए ।

मेयर साम्पाङले कोका खोलाको पानी धरानबासीलाई खुवाउने अभियानमा ‘ज्याकी आई एम ट्वान्टी वान’का कलाकारले श्रमदान गरेका हुन् । 

मेयर राईले ‘ज्याकी: आई एम ट्वान्टी वान’का कलाकारहरुको तारिफ गर्दै फिल्मले राम्रो व्यापारको कामना गरेका थिए । ‘तपाईहरुको यो फिल्म धरानको परिवेशमा भएकाले म घेराबन्दी तोडेर हेर्ने समय निकाल्ने प्रतिवद्धता व्यक्त गर्दछु’, मेयर राईले भने ।

‘म दैनिक जसो ठुलो घेराबन्दीमा हुन्छु । मनोरञ्जनलाई मात्र हैन कलालाई सम्मान गर्ने हिसाबले र कलाकार भनेको हाम्रो देशको गहना भएकाले प्रमोट गर्नु पर्छ । हलिउड र बलिउडको मात्र कुरा गरेर हुँदैन । नेपाली फिल्म क्षेत्र पनि राम्रो भएर जानुपर्छ भन्ने उद्देश्यले त्यसको लागि सबैजनाले यो फिल्मलाई प्रमोट गर्नुपर्छ । मलाई एउटा कुरा थाहा छ म आफै पनि बजारमा न बिकेको गायक भएकाले कलाको महत्व मलाई थाहा छ । कला, साहित्य र संस्कृतिको अत्यन्तै माया लाग्छ । हामी कुन अर्थले नेपाली हो भन्दा हामीलाई कलाले परिचय गराइराखेको हुन्छ, मान्छे हेर्दा त हामी जस्तो अरू देशमा पनि त छन्, तर हामी चै कुन अर्थमा फरक हो भन्दा खेरी कलाबाटै हो चिनिने त्यसैले कला क्षेत्रलाई माया दिनु पर्छ ,’ उनले अगाडि भने । 
मेयर राईले आफुले चलाएको अभियानमा आएर साथ र सहयोग साथै देख्न र भेटन पाउँदा खुशी लागेको बताए ।

फिल्मका मुख्य धिरजले ‘ज्याकी आइ एम ट्वान्टी वान’ धरानको कथा भएको र आफू फिल्ममा धराने केटो भएर खेलेको खुलाए । ‘फिल्ममा धरानको केटो भएर अभिनय गरेकाले फिल्मले धरानको साथ पाउँछ भन्ने आशा छु’, धिरजले भने ।

त्यस्तै नायिका जसिताले पछिल्लो पटक धरान आउँदा धरान निकै मनपरेको खुलाइन् । ‘यसपटक पनि फिल्मको प्रमोसनकै लागि धरान आएँ । यसपटक पनि उत्तिकै माया पाएको छु । फिल्म धराने डान्सर केटाको बारेमा हो । यो कथाले धरानका धेरै युवालाई जोड्ने भएकाले फिल्म हेरिदिन अनुरोध गर्दछु’, जसिताले भनिन् ।

फिल्मका अर्का कलाकार प्रेम सुब्बाले फिल्मले धरानको अग्र्यानिक कथालाई प्रस्तुत गरेकाले विशेषतः धरानका दर्शकले फिल्म हेर्नुपर्ने धारणा राखे ।