आँचलसँग आफै पंगा लिँदै पूजा

अभिनेत्री पूजा शर्मा र आँचल शर्माको सम्बन्धबारे फिल्म क्षेत्रलाई जग जाहेर नै छ । उनीहरुको मिल्ने र छुट्टिने श्रृंखला पुरानै हो । यतिबेला आँचल अभिनित फिल्म ‘नाइँ नभन्नू ल ६’ हलमा प्रदर्शनरत छ । यहाँ हामी यो फिल्मको बक्स अफिसको चर्चा गर्दैनौं । गर्छौ त केवल पूजा र आँचलको सम्बन्धको ।

अहिले यी दुई अभिनेत्रीबीच पानी बाराबारकै अवस्था छ । सामाजिक सञ्जालमा आउने दुवै अभिनेत्रीको स्टाटसले पनि यो कुरालाई पुष्टि गर्छ । यही मेसोमा मंगलबार पूजाले फेसबुकमा कमेडी शो ‘कमेडी क्लब विथ च्याम्पियन’को एक भिडियो क्लिप शेयर गरिन् । भिडियो क्लिपमा फिल्म ‘नाइँ नभन्नू ल ६’का अभिनेता आशिर्वाद क्षेत्री र आँचल शर्मा देख्न सकिन्छ । उनीहरु फिल्मको प्रचारका लागि पुगेका थिए ।

शोका कलाकार सुन्दर खनालले आँचललाई ‘तपाईं मन्दिर तिर पनि खासै जानु हुँदो रहेनछ नि ? ’ भनेर सोध्दा आँचलले ‘किन ?’ भन्दै जवाफ दिन्छिन् । त्यसपछि सुन्दरले ‘तपाईलाई पूजा मन पर्दैन रहेछ’ भन्छन् । यो सुनेपछि आँचल निकै हाँस्छिन् । उनले हाँसेपछि यो कुरामा आफूले ताली बजाउने हो या होइनसमेत भनेकी छन् । 

 

यही शोमा आँचलले सुन्दरसँगको विवाद पनि अन्त्य गरेकी छन् । उनले सुन्दरसँग हात मिलाउँदै अंकमाल गरेर विवादलाई मत्थर पारेकी हुन् ।

यसरी हेर्दा कमेडी क्लब विथ च्याम्पियनले आफ्नो स्किृप्टमै पूजाका कुरा जोडेर आँचललाई विवादमा पार्न खोजिएको देखिन्छ । यसै शोका होस्ट विशाल भण्डारीले कार्यक्रमकै बेला आँचलको अर्को विवाद कहिले आउँछ होला भन्ने खालको चासो पनि राखेका थिए ।

यही क्लिपलाई पूजाले आफ्नो फेसबुकमा ‘फिल्मको पब्लिसिटी, फिल्मको नाम, फिल्मको हिरोको पब्लिसिटी गर्नु, मेरो होइन । इट्स टु मच यार’ भनेर लेखेकी छन् ।

यसरी हेर्दा घुमाउरो शैलीमा कमेडी क्लब विथ च्याम्पियनलाई भन्न खोजे पनि पूजाले आँचल माथि नै आफ्नो विवाद मत्थर हुन नदिन खोजिएको प्रष्टसँग बुझ्न पनि सकिन्छ । स्मरण रहोस्, एक फिल्ममा रेखा थापा, पूजा शर्मा र आँचल शर्माले सहकार्य गर्ने कुरा भइरहँदा यी विवादले राम्रैसँग स्थान पाएका छन् ।

पूजाले आफूले लेखेको उक्त कुरा फेसबुकबाट हटाएकी छिन् ।