विशालजी तपाईको शोमा अनमोलबाहेक बिकाउने केही छैन ?

अनमोल केसी नेपाली फिल्म क्षेत्रमा स्टारडम भएका कलाकार भन्दा फरक नपर्ला । भलै उनको पछिल्लो फिल्म ‘छड्के २’ बक्सअफिसमा नराम्रोसँग फ्लप भए पनि उनको स्टारडप फ्लप छैन । उनी कहाँ, के गर्छन् भन्ने उनको परिवार र निकटतमबाहेक अन्य कसैलाई जानकारी हुँदैन । आफ्नो स्टारडम जोगाउनुमा अनमोलको यो शैली पनि प्रमुख कारक हो ।

यिनै अनमोल ‘कमेडी क्लब विथ च्याम्पियन’का लागि ‘हट केक’ छन् । यसकारण ‘हट केक’ छन् कि विशाल भण्डारी होस्ट रहेको यो शोका प्रायः प्रत्येक भागमा कलाकारले ‘अनमोल’ र ‘छड्के २’ संवादमा छुटाउँदैनन् । अनमोललाई उनीहरुले व्यंग्य गरेको हुन् या सम्मान, त्यो उनीहरु नै जानुन । तर पनि अनमोलको चर्चा गरिरहन्छन् ।

शोका निर्देशक विक्की अग्रवाल र विशाल भण्डारी प्रोडक्सन हेड हुन् । शोमा सुमन कार्की, मेक्सम गौडेल, सजन श्रेष्ठ, कैलाश कार्की र सुन्दर खनाल प्रमुख आकर्षण हुन् । उनीहरुबाटै अनमोल र ‘छड्के २’ माथि बारम्बार व्यंग्य तेर्साइरहेकै हुन्छन् । यो शोको स्क्रिप्ट लेखनमा पुजन अधिकारी, सुशान्त बस्याल र सुमन कोइराला छन् । उनीहरुले के सोचेर अनमोललाई स्क्रिप्टमा अटाइरहेका छन्, बुझ्न सकिएको छैन । नेपाली फिल्म क्षेत्रमा के अनमोलमात्र एकल अभिनेता हुन् ? जो उनीहरुको स्क्रिप्टमा अँटाइरहेका छन् ? अनमोललाई स्क्रिप्टबाटै व्यंग्य गरिरहने हो भने त अनमोललाई नै कलाकारका रुपमा शोमा भित्र्याए भईगयो नि बिक्की जी ।

यो शोमा अनमोल स्क्रिप्टमा अटाउनुको कारण कतै विशाल भण्डारीको ‘ग्रीन सिग्नल’ त होइन । किनकी विशाल आफैं पनि फिल्म निर्देशक हुन् । प्रत्येक भागमा अनमोलकै नाम लिइरहँदा भोलि आफूलाई परेका दिनमा विशाल आफूलाई यसरी नै उडाइ रहन्छन् कि रहँदैनन् । विशालजीलाई हाम्रो यो सिधा प्रश्न हो ।