जसिता भन्छिन्–‘फिल्मको लाइनअप लामो छ’


नायिका जसिता गुरुङले फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’मा गरेको अभिनयको मंगलबार आयोजित प्रिमियरमा उपस्थिति फिल्मीकर्मी र पत्रकारले खुलेरै तारिफ गरे । फिल्म ‘लिलिबिली र लभ स्टेशन’मा काम गरेपछि केही बर्ष पर्दाबाट टाढा रहेकी जसिताले दर्शकलाई सरप्राइज नै दिएकी छिन् । यो फिल्म हेर्दा जसिताको मिहिनेत स्पष्ट झल्कन्छ । 

जसिताले यो बीचमा एउटा रियालिटी शोमा निर्णायकको भूमिका समेत निर्वाह गरेकी थिइन् । यो फिल्मपछि जसिताको नयाँ फिल्म के होला भन्ने चासो उनका फ्यानमाझ छ । 

यति ठूलो क्यानभासको फिल्ममा काम गरेपछि अब नयाँ फिल्म साइन गर्न गाह्रो होला नी भन्ने मेरो फिल्मको प्रश्नमा जसिताले भनिन्–‘त्यसको कुनै तनाव नै छैन । मेरो फिल्मको लाइनअप लामो छ ।’

जसिताले अब फिल्म क्षेत्रमा ब्रेक लिएर काम नगर्ने बताइन् । उनले, एकपछि अर्को फिल्ममा काम गर्दै दर्शकलाई फरक फरक स्वादका कथा पस्कने समेत बताएकी छिन् । 

फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’मा डान्सर बन्न चाहने एक युवतीको भूमिकामा जसिताले ज्यान भरेकी छिन् । उनको डान्सका लागि गरेको मिहिनेतको मुक्तकण्ठले प्रशंसा गर्न सकिन्छ ।

भोलीबाट देश भरका हलमा रिलिज हुने फिल्मलाई लिएर जसिता उत्साहित छिन् । साथै, फिल्मका लागि गरेको मिहिनेत सम्झिएर जसिता पत्रकारहरूसँग भावुक देखिइन् ।