‘ज्याकीः आई एम ट्वान्टी वान’ बारे दर्शक भन्छन्–‘उत्कृष्ट फिल्म’


वैशाख २१ गते अर्थात बिहिबारबाट रिलिजमा आएको नेपाली फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ले दर्शकको शत प्रतिशत राम्रो प्रतिक्रिया पाएको छ । 

आज काठमाडौंको एफ क्यूब हलमा पुगेका नायक धिरज मगर र नायिका जसिता गुरुङले दर्शकसँग प्रतिक्रिया लिएका थिए । सो क्रममा फिल्म हेर्न हलमा उपस्थित अधिकांश दर्शकले यसको कथावस्तु, प्रस्तुतिलाई मन पराए । नेपाली फिल्ममै पहिलो पटक डान्स विधामा फिल्म बनेको र त्यसलाई उत्कृष्ट तरिकाले देखाउन निर्देशक रेनशा राई राना सफल भएको उनीहरुको प्रतिक्रिया थियो । 

केही दर्शकले फिल्ममा आफूलाई पाएको बताए । फिल्मको क्लाइमेक्समा केही दर्शकले असन्तुष्टी जनाएका थिए । निर्माणपक्षले दर्शकको प्रतिक्रिया अनुसार क्लाइमेक्समा केही सुधार गर्ने बताएको छ । 

फिल्म हेर्न हलमा खचाखच भरिएका दर्शक देखेर खुशी भएका नायक धिरज मगर र नायिका जसिता गुरुङले खुशी व्यक्त गरे । उनीहरुले बिहिबार पानीले फिल्मको व्यापारमा केही असर गरेपनि शुक्रबारबाट भने दर्शकको उत्साह बढेको बताए । 

परिवार र आफ्नो सपनाको बिचमा उभिएको एक यूवाको कथामा फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ निर्माण भएको छ । नेपाली फिल्मले सधै एउटा कथा भनिरहेको समयमा निर्देशक राईले यो शैलीलाई भत्काएर नयाँ कथा भनेकी छिन् । जसलाई दर्शकले मुक्तकण्ठले प्रशंसा गरेका छन् । साथै, केही दर्शकले फिल्ममा जसिता र धिरजले उत्कृष्ट काम गरेको प्रतिक्रिया दिए । 

दर्शकको वर्ड अफ माउथ बलियो भएकाले पनि व्यापार अझै बढ्ने निर्देशक राइको विश्वास छ ।