करियरकै ठूलो धमाका गर्दै रजनीकान्त

पेन इण्डियाको फिल्मको बाढी आइरहेको वर्तमान समयभन्दा धेरै वर्ष अघि नै पेन इण्डिया सुपरस्टार बनिसकेका अभिनेता रजनीकान्त यो साल करियरकै ठूलो धमाका गर्दैछन् । हालैमात्र उनको फिल्म ‘जेलर’को फस्टलुक सार्वजनिक हुनासाथ त्यसले राम्रै चर्चा पायो ।

यो वर्ष रजनीकान्त दुई फिल्ममा देखिँदैछन् । उनी अर्को फिल्म ‘लाल सलाम’मा पनि देखिँदैछन् । यो फिल्ममा रजनीकान्तकी छोरी ऐश्वर्या रजनीकान्तको निर्देशन छ । ऐश्वर्या ८ वर्षपछि निर्देशनको कुर्सीमा बसेकी हुन् । फिल्मले ९० को दशकको मुम्बईको कथालाई देखाउनेछ ।

क्रिकेट खेलको कथालाई उतारिएको फिल्ममा तमिल स्टार विष्णु विशाल र विक्रान्तको प्रमुख भूमिकामा अभिनय छ । फिल्ममा रजनीकान्तले मुम्बईको एक डनको भूमिका निभाएका छन् ।

फिल्मको फस्टलुक सार्वजनिक भइसकेको छ । सार्वजनिक फस्टलुकमा रजनीकान्तले शेरवानी र पाइजामा तथा शीरमा एक रातो टोपी लगाएका छन् ।

सन् १९९५ रिलिज ‘बाश्शा (बादशाह)’ रजनीकान्तको सबैभन्दा आइकनिक फिल्ममध्ये एक हो । यो फिल्ममा उनले मुम्बईको एक डनको भूमिका निभाएका थिए । फिल्ममा उनको चरित्रको नाम मानिक थियो, तर उनले आफ्नो मरिसकेको साथी अनवर बाश्शाको सम्झनामा उसको नाम पनि आफ्नो नाममा जोड्छन् । २८ वर्षअघि रिलिज यो फिल्म रजनीकान्तको सफल फिल्ममा पर्छ । यो फिल्म १५ महिनासम्म थिएटरमा प्रदर्शन भएको थियो ।