‘पशुपति प्रसाद २ः भष्मे डन’लाई विदेशी बजारबाट २ करोड


फिल्म उत्कृष्ट बनाउने हो र आम दर्शकमा फिल्मप्रति चासो बढाउन सक्ने हो भने रिलिज अगावै फिल्मले लगानी सुरक्षित गर्न सक्ने वातावरण बन्न सक्छ । 

कुनै फिल्मले पानी पनि भन्न नसकेको अवस्थामा केही फिल्मले भने रिलिज अगावै निर्मातालाई मुनाफा दिइरहेका हुन्छन् । यस्तो कुरामा, नेपालका थोरै निर्देशक, थोरै कलाकार र केही ब्यानरका फिल्म मात्र अगाडि छन् । 

कार्तिकको ३ गतेबाट रिलिज हुन लागेको निर्देशक दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’को छायांकन अझै सकिएको छ । बजारमा फिल्मप्रति उच्च चासो र प्रतिक्षा हुँदा दीपेन्द्र दबाबमा छन् । जसकाकारण, यसपटक उनले फिल्मको छायांकन चाडो सक्न हतार गरेका छैनन् । बरु, राम्रो आउटपुट दिनका लागि मिहिनेत गरिरहेका छन् । 

दीपेन्द्रको दाबीलाई मान्ने हो भने, यो फिल्मको विदेशका अधिकांश देशमा राइट्स विक्री भएसकेको छ । फिल्म चल्न आधा बर्ष बाँकी रहेको अवस्थामा बिदेशी बजारमा फिल्मको उच्च माग छ । फिल्मको छायांकन सेटबाट केही तस्वीर मात्र सार्वजनिक भएका छन् । 

यो फिल्मलाई अमेरिका, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, मलेसिया, यूरोपका विभिन्न देशमा रिलिजको अधिकार विक्री गरिसकिएको छ । जसबाट करिब २ करोड नेट निर्माताले प्राप्त गरेको दीपेन्द्रको दाबी छ । फिल्मलाई कार्तिक ३ गते नै नेपालसँगै विदेशमा रिलिज गरिनेछ । 

यो फिल्म ‘पशुपति प्रसाद’को सिक्वेल हो । यसैले, पनि हिट फिल्मको सिक्वेल भएका कारण नेपालसँगै बिदेशमा बस्ने नेपाली दर्शकका लागि यो फिल्म प्रतिक्षित छ । 

फिल्ममा विपिन कार्की शिर्ष भूमिकामा छन् । साथमा सौगात मल्ल, स्वस्तिमा खड्का जस्ता कलाकारले फिल्ममा अभिनय गरेका छन् । खगेन्द्र लामिछानेले फिल्मको निर्माण तथा लेखन गरेका छन् ।