जश्मिनको शब्दमा अर्जुनको ‘शुभकामना’, नीता र रमेशको मोडलिङ


‘शंका गर्या होइन मैले रिस गर्या होइन’ बोलको गीतकी गीतकार जश्मिन श्रेष्ठले ‘शुभकामना’ बोलको गीत सार्वजनिक गरेकी छिन् । आफ्नी दिदी पूजा गुरुङलाई जन्मदिनको उपहार दिदै जश्मिनले यो गीत तयार पारेकी हुन् । बहिनीको तर्फबाट गीत नै उपहार पाएपछि दिदी पूजा गुरुङले खुशी व्यक्त गरिन् । 

बिहिबार बेलुकी ललितपुरमा आयोजित कार्यक्रममा अर्जुन पोखरेलको संगीत, प्रताप दासको स्वरमा समावेश गीत सार्वजनिक गरिएको हो । 

यो गीतको भिडियोमा नायिका नीता ढुंगाना र मोडल रमेश विश्वकर्माले अभिनय गरेका छन् । भिडियोमा निर्देशक माइकल चन्दले नीता र रमेशलाई दिदी भाइको रुपमा प्रस्तुत गरेका छन् ।

तर, उनले भिडियोमा दिएको  सरप्राइजलाई उपस्थित संचारकर्मी र अन्य मानिसहरुले रुचाएका थिए । 

नवराज उप्रेतिको छायांकनमा तयार भएको भिडियोमा शिलन लम्सालको सम्पादन छ । यो गीतले जन्मदिनको अवसरमा कसैलाई शुभकामना दिदा देखिएको गीतको अभावलाई पूर्ती गर्ने विश्वास गीतकार जश्मिनको छ । 

नायिका नीता ढुंगानाले सधै भरी गुञ्जने गीतमा मोडलिङ गर्न पाउँदा खुशी लागेको बताइन् । यस्तै, संगीतकार अर्जुन पोखरेलले कुनै विदेशी गीतलाई विस्थापित गर्न भन्दा पनि आफ्नै भाषाको जन्मदिनको गीत स्थापित गर्न तयार पारेको बताए ।