पलको भिडियोमा आफ्नै कथा, तर जेल जानु अगाडिको घटना किन लुकाइयो ?


नायक पल शाहको एक बर्षपछिको कमब्याक भिडियो बिहिबार सार्वजनिक भयो । ‘तिमीलाई हेर्ने बानी पर्यो’को फिमेल भर्सनमा पलले अभिनय गरेका छन् । पलकै निर्देशनमा तयार भएको भिडियोमा अनु चौधरीको स्वर छ । यसअघि पुष्पन प्रधानले यो गीतमा स्वर दिएका थिए । 

भिडियोमा पल शाहले आफ्नो जेल गएको दिनदेखि छुट्दाको पलसम्मको घटनालाई समावेश गरेका छन् । भिडियोको सुरुवातमै हातमा हथकडी लगाएको अवस्थामा पललाई देख्न सकिन्छ । जिल्ला प्रहरी कार्यलय, तनहुँमा आत्मसर्मपण गरेपछि पल शाहलाई प्रहरीले हथकडी लगाएको थियो । 

उसो त, यो गीतको भिडियोमा पलले आफूले कुनै गल्ती नगरेको र निर्दोष भएर पनि एक बर्ष जेल जीवन बिताउनु परेको सन्देश दिन खोजेका छन् । पलले भिडियोको मार्फत आम मानिसहरुबाट आफूप्रति भावना तान्ने कोशिश गरेका छन् । 

भिडियोमा पल जेल जाँदा उनकी प्रेमिका र परिवारमा देखिएको छटपटीलाई समावेश गरिएको छ । भिडियोमा पल जेल जानु अगाडि र जेल गइसकेपछिको दुइवटा गेटअपमा देखिएका छन् । 
तर, पलले भिडियोमा मुुख्य पात्र किन जेल गयो भनेर देखाएका छैनन् । अझ, जेल जानु अगाडि के भएको थियो भन्ने घटनालाई भिडियोमा लुकाइएको छ । 

भिडियोमा पलले विभिन्न धर्म मान्ने मानिसहरु, आम जनताको प्रार्थनाले आफू छुटेको देखाउन खोजेका छन् । तर, वास्तविक रुपमा उनी आमा मानिसको प्रार्थनाले मात्र नभएर नाबालिका गायिकाले बयान फेरेका कारण छुटेका थिए । यो कुरा पनि  पलले भिडियोमा लुकाएका छन् । 

पुष्पन प्रधानको शब्द तथा संगीतमा तयार भएको यो गीतको भिडियोमा राजिव समरको कोरियोग्राफी, बुद्ध थापाको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ । यो गीतको अडियो एकातिर र भिडियो अर्कोतिर छ ।