कसले लैजाला नेफ्टाको उत्कृष्ट अभिनेता अवार्ड, प्रतिष्पर्धामा दयाहाङ, विपिन, अनमोल, दीपक र प्रदीप

एघारौं संस्करणको नेफ्टा फिल्म अवार्डको मनोनयन सार्वजनिक गरेको छ । सार्वजनिक मनोनयनको सूची हेर्दा नेपाली फिल्मका चल्तीका कलाकारहरुको प्रतिष्पर्धा देखिएको छ । 

मनोनयनमा दयाहाङ राई, विपिन कार्की, दीपकराज गिरी, अनमोल केसी र प्रदीप खड्काबीच प्रतिष्पर्धा देखिएको छ । फिल्मको सफलतालाई हेर्ने हो भने यी अभिनेतामध्ये दयाहाङ एक नम्बरमा छन् । २०७९ मा दयाहाङ अभिनित ‘कबड्डी ४’, ‘के घर के डेरा’ र ‘दुई नम्बरी’ सफल फिल्ममा पर्दछन् । त्यसैले पनि यो वर्ष अभिनेता विधाको अवार्ड दयाहाङले नै उचाल्ने चर्चा फिल्मकर्मीमाझ छ ।

त्यसैगरी २०७९ मा विपिन कार्की पनि सफल नै देखिएका छन् । उनी अभिनित ‘के घर के डेरा’ले राम्रो व्यापार गर्दा ‘फूलबारी’को व्यापार औषत देखियो । अभिनेता दीपकराज गिरीको भने एउटै मात्र फिल्म ‘छक्का पन्जा ४’ रिलिज भयो । त्यसमा उनी सफल साबित भए ।

यता युवापुस्तामाझ चल्तीका अनुहारका रुपमा चिनिएका अनमोल केसी र प्रदीप खड्काको अवस्था भने केही फरक देखियो । अनमोल अभिनित फिल्म ‘ए मेरो हजुर ४’ले लगानी सुरक्षित गर्दा अर्को फिल्म ‘छड्के २’ले पानी पनि माग्न सकेन । त्यसको प्रमाण अनमोलले सार्वजनिक रुपमै सामाजिक सञ्जालमा माफी मागेको स्टाटस हेरे पुग्छ ।

२०७९ मा प्रदीपका दुई फिल्म ‘प्रेमगीत ३’ र ‘प्रकाश’ रिलिज भए । ‘प्रेमगीत ३’ हिन्दी र नेपाली भाषामा रिलिज भएकाले फिल्मले लगानी सुरक्षित गर्यो । तर दुःखको कुरा यो फिल्म नेपालमा मात्रै रिलिज भएको भए लगानी उठाउने सम्भावना न्युन रहेको फिल्मकर्मीको दाबी छ । उनको अर्को फिल्म ‘प्रकाश’को हालत उस्तै देखियो । प्रदीपलाई जुम्ली चरित्रमा प्रस्तुत गरिएको यो फिल्मले प्रदीपको चरित्रलाई त फेर्यो तर बक्सअफिसको आर्थिक मामलालाई फेर्न सकेन । अर्थात् फिल्मलाई लगानी उठान नै गाह्रो पर्यो । 

समग्रमा हेर्दा अभिनेताको मनोनयनमा सफलता र व्यस्ततालाई नियाल्दा वर्ष २०७९ व्यस्तता र बक्सअफिसको रिपोर्ट हेर्दा दयाहाङ अग्रस्थानमा छन् । उत्कृष्ट पाँच मनोनयनलाई नियाल्दा दयाहाङले नै अवार्ड उचाल्छन् या उचाल्दैनन् भन्ने थाहा पाउन जुलाई २२ नै पर्खनुपर्छ ।

अमेरिकामा अवार्ड हुने भनिए पनि पूर्वनिधारित स्थानमा अवार्ड नहुने सम्भावना पनि उत्तिकै रहेको अवार्ड निकट स्रोत बताउँछ । किनकी अधिकांश कलाकारसँग अमेरिकाको भीषा नभएको र पछिल्लो समय नेपाली राजनीतिमा चर्चाको विषय रहेको नक्कली भुटानी शरणार्थी प्रकरणले पनि त्यसमा मलजल गरेको छ ।