५६ दिनमा ४ करोड खर्चदै सकियो विपिन, स्वस्तिमा र सौगातको ‘पशुपति प्रसाद २’को छायांकन


निर्देशक दीपेन्द्र के खनालले ५६ दिन लगाएर फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’को छायांकन सकाएका छन् । उनले ७ बर्ष अगाडि फिल्म ‘पशुपति प्रसाद’को छायांकन १३ दिनमा सकेका थिए । 

चैत्रको १० गतेबाट सुरु भएको फिल्मको छायांकन जेठको ४ गते सकिएको हो । दीपेन्द्रका अनुसार २ करोड बजेटमा सक्ने योजनाका साथ सुरु भएको फिल्मको काम ४ करोड लाग्ने देखिएको छ । यसले, फिल्म रिलिजको समयमा बक्स अफिसमा चर्को दबाब पर्ने पक्का छ । 

दीपेन्द्रले यसपटक दर्शकले फिल्मलाई लिएर छुट्टै खालको अपेक्षा गरेको भन्दै समय लगाएर भएपनि मिहिनेत गरेको बताएका छन् । यो फिल्म दशैंको फूलपातिको अवसरमा रिलिज हुँदैछ । 

फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, खगेन्द्र लामिछाने, वर्षा सिवाकोटी, रविन्द्र सिंह बानियाँ, मिश्री थापा, सजन थापा, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ ।
 
टुकी आर्टस्को ब्यानरमा निर्माण भएको फिल्मको कथा खगेन्द्र लामिछानेले लेखेका हुन् । निरज कँडेलको छायांकन रहेको फिल्ममा दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्धाज र सुभाष भुषालको संगीत छ । 

यो फिल्मको विदेश राइट्स २ करोडमा विक्री भैसकेको निर्माणपक्षले बताएको छ । जसकाकारण, निर्माताले फिल्म रिलिज अगावै आधा रकम उठाइसकेका छन् । दशैंको समयमा रिलिज हुने र प्रतिक्षित फिल्म पनि भएकाले यसले बक्स अफिसमा ब्लकबस्टर व्यापार गर्ने अपेक्षा गरिएको छ ।