'दृश्यम'को कोरियन रिमेक घोषणा

अभिनेता अजय देवगन र तब्बू स्टारर फिल्म ‘दृश्यम’ अब कोरियन भाषामा रिमेक हुने भएको छ । हिन्दी, मलयालम, तमिल, कन्नड, तेलुगु भाषामा हिट यो फिल्मको अब कोरियन रिमेक हुन लागेको हो ।

फ्रान्सको कान्समा जारी कान्स फिल्म फेस्टिभलको इण्डिया पेभिलियनमा हालै फिल्मको कोरियन रिमेकको घोषणा गरिएको हो । भारतीय प्रोडक्सन कम्पनी पानोरामा स्टुडियो र वार्नर ब्रदर्सका पूर्व कोरियन प्रमुख जे चोईले स्थापना गरेको एन्थोलोजी स्टुडियोज, ‘पारासाइट’ अभिनेता सोङ कांग–हो र निर्देशक किम जी–वूनले कोरियन रिमेकको जिम्मेवारी लिएका हुन् ।

दिवंगत निशिकान्त कामतद्वारा निर्देशित ‘दृश्यम’ को पहिलो संस्करण विजय सलगांवरको वरपर घुमेको छ । जसको साधारण संसार एक आकस्मिक मृत्युपछि बिग्रन्छ । जसमा उनको परिवार र आफूलाई कानूनबाट बचाउनका लागि हतास निर्णय लिइएको देखाइएको छ । फिल्ममा कमलेश सावन्तको पनि अभिनय छ ।

फिल्मका निर्माता कुमार मंगत पाठकले पहिलोपटक कुनै हिन्दी फिल्मलाई कोरियन भाषामा रिमेक गर्न लागेकोमा खुशी व्यक्त गरेका छन् । ‘कैयौं वर्षदेखि हामी कोरियन फिल्मबाट प्रेरित छौं । अब हाम्रो एक फिल्मबाट उनीहरुले प्रेरणा खोज्नेछन् । भारतीय फिल्मका लागि योभन्दा ठूलो उपलब्धी के नै हुनसक्छ र ?’ उनले भनेका छन् ।

वार्नर ब्रदर्शका कोरियन पूर्व प्रमुख जेले ‘दृश्यम’लाई कोरियन भर्सनमा रिमेक गर्न लागेकोमा गर्व महशुस गरेको बताएका छन् । ‘हामी कोरियाली फिल्मको मौलिकलाई जीवित राख्दै एक व्यापक रुपले सफल हिन्दी फिल्मको रिमेक बनाउने अवसर पाउँदा रोमाञ्चित छौं । कोरिया र भारतको बीच पहिलोपटक प्रमुख सह–निर्माणका रुपमा यसको रिमेक गर्नु अझ महत्वपूर्ण कुरा हो ।’, उनले भनेका छन् ।