दयाहाङलाई आराम गर्ने समय पनि छैन


नायक दयाहाङ राइले फिल्म ‘जारी’को प्रचार गर्दै गर्दा, उनी अभिनित फिल्म ‘नाङ्गो गाउँ’को छायांकन चलिरहेको थियो । यो फिल्मको छायांकनको बिचमा समय मिलाएर उनले ब्लकबस्टर फिल्मको प्रचार गरे । 

यो फिल्मको छायांकन ३३ दिनमा सकिएको छ । अब, यो फिल्मको छायांकन सके लगतै दयाहाङ फिल्म ‘दिमाग खराब’मा जोडिएका छन् । निश्चल बस्नेतको निर्देशनमा बनिरहेको फिल्मको छायांकन सुरु भएको २ दिन भयो ।

यो फिल्मका लागि दयाले करिब २ साता समय  दिने वुझिएको छ । यो फिल्मको सेड्यूल सकिएलगतै दयाहाङ फिल्म ‘हात्तीछाप’मा व्यस्त हुनेछन् । निर्माता किरण नेपालीले दयाको समय कुरेर बसिरहेका छन् । फिल्मका लागि अरु कलाकार फाइनल भैसकेका छन् । 

दयाहाङले ‘दिमाग खराब र हात्तीछाप’मा समय दिनुपर्ने भएकाले पनि निर्देशक रामबाबु गुरुङले फिल्म ‘डिग्री माइला’को छायांकन सुरु गर्न सकेनन् । संभवत, फिल्म ‘हात्तीछाप’को छायांकन सकिएपछि रामबाबुले फिल्मको छायांकन सुरु गर्नेछन् । 

यो बिचमा दयाले भदौ लागेपछि फिल्म ‘नाङ्गो गाउँ’को प्रचारका लागि समय पनि दिनुपर्नेछ । यसरीहेर्दा, दयाका लागि आधा बर्ष आराम गर्ने समय पनि छैन । दशैंपछि उनले अरु फिल्ममा पनि काम गर्ने पक्का छ । 

लगातार ब्लकबस्टर फिल्म दिएपछि दयाको माग फिल्म क्षेत्रमा सबैभन्दा बढी छ । यसैले, दयाहाङ कहिलेकाही समयले यस्तै गर्छ भन्दै फिल्ममा निरन्तर व्यस्त बनिरहेका छन् ।