नेफ्टा अवार्ड आयोजकले वेवास्ता गरेको भन्दै अमेरिकाका फिल्मीकर्मीको गुनासो


साउनमा ‘११ औं नेफ्टा फिल्म अवार्ड’ अमेरिकामा आयोजना गर्ने तयारी नेपाल चलचित्र प्राविधिक संघले गरेको छ । चलचित्र प्राविधिक संघले नेफ्टा अवार्डका लागि विभिन्न विधामा नोमिनेशन पनि सार्वजनिक गरिसकेको छ । प्राविधिक संघले सार्वजनिक गरेको नोमिनेशनको चर्चा धेरै यहाँ गरिराख्न आवश्यक छैन ।

तर, अमेरिकामा रहेका फिल्मीकर्मीले भने नेफ्टा अवार्ड आयोजकले वेवास्ता गरेको भन्दै सामाजिक संजालमा असन्तुष्टी व्यक्त गरेका छन् । अमेरिकाको ड्यालसमा रहेका निर्देशक सुरेश दर्पण पोखरलले सामाजिक संजालमा असन्तुष्टी व्यक्त गर्दै नेपाली फिल्मको विकासका लागि विदेशमा गर्ने भनिएका अवार्ड केहीको विदेश शयर, केही बेनामेहरुको नाम कमाउने धन्दा र पर्दा भित्रका लेनदेनमा सिमित हुने गरेको उल्लेख गरेका छन् । अमेरिकामा रहेका एक प्राविधिकले आफू बसेको शहरमा अवार्ड हुन लागेको जानकारी केही नपाएको भन्दै गुनासो व्यक्त गरे ।

दर्पणले लेखेका छन्–‘नेपाली फिल्मको विकास, बिस्तार गर्ने भन्दै विदेशमा आयोजना हुने अधिकांश अवार्डहरु फगत विदेश शयर, केही बेनामहरुको नाम कमाउने धन्दा र पर्दा भित्रको लेनदेनमा सिमित हुने परिपाटीबाट हामीले कहिले मुक्ती पाउने ? विदेशमा रहेका अधिकांश कलाकर्मीलाई गैह्र कलाकर्मी झै व्यवहार गर्नेहरुको घैटोमा घाम लाग्ने कहिले ? के नेफ्टाले पनि यही नियती दोहोर्याउन लागेको हो ?’

नेपाली फिल्म र म्युजिक क्षेत्रको विस्तार र विकास भन्दै पछिल्ला केही बर्षयता विदेशमा अवार्डहरु गर्ने क्रम खुबै बढेको छ । तर, यस्ता अवार्डहरुले न त नेपाली फिल्मको विकास गर्न सकेका छन् न त यी अवार्डहरुको गरिमा नै बढ्न सकेको छ । तर, पनि अवार्डहरु गर्ने क्रम भने रोकिएको छैन ।