क्यानडामा म्युजिक भिडियोको भद्रगोल अवार्ड, आयोजकको भिसा नै लागेन


ग्रेट नटराज फिल्मस्ले क्यानडाको टोरन्टोमा आयोजना गरेको ‘दोस्रो स्टार म्युजिक अवार्ड २०२३’मा भद्रगोल भएको छ । भद्रगोल यसकारण कि त्यहाँ मुख्य आयोजक नै उपस्थिति थिएनन् । प्रोजेक्टरमार्फत मनोनयन नदेखाइ सिधै म्युजिककर्मीहरुलाई अवार्ड प्रदान गरियो ।

रोचक कुरा त के छ भने नेपालमा दर्ता भएको ग्रेट नटराज फिल्मसको प्रालिको आधिकारिक फेसबुक पेजमा अवार्डबारे केही प्रचार सामग्री छैन । क्यानडामै रहेका समाजसेवी, व्यवसायी र सर्वसाधारण नेपाली अवार्डबारे अनभिज्ञ थिए ।

अवार्डका लागि नेपालबाट झण्डै तीन दर्जन कलाकार ल्याएर कार्यक्रम गर्न खोजिए पनि कार्यक्रम उपलब्धिमूलक भएन । तीन दर्जन म्युजिक भिडियोमा काम गर्ने मोडल, निर्देशक, प्राविधिहरुले लगेर भद्रगोल रुपमा अवार्ड किन गरियो, क्यानडामा नै बसिरहेका नेपालीहरुले बुझ्न सकेका छैनन् । र यो अवार्डले नेपाली म्युजिक भिडियो क्षेत्रलाई फाइदा गर्यो भनेर वुझ्नु आफैमा हाँस्यास्पद हुनेछ । 

टोरन्टो क्षेत्रस्थित मिसिसागाको पियर्सन कन्भेन्सन सेन्टरको हलमा गरिएको अवार्डको व्यवस्थापन चुस्त थिएन । कार्यक्रमका बारेमा न आयोजक बोल्न चाहन्थे, न त सहभागी कलाकार नै । 
प्रवेशद्वार, हल र मञ्चमा राखिएका फ्लेक्समा नेपालका नाम चलेका व्यापारिक कम्पनी तथा संस्थाको नाम देखिए पनि उनीहरु कार्यक्रमबारे बोल्न खोजेनन् ।

चार घण्टाको कार्यक्रमका लागि झण्डै १५ लाख नेपाली रुपैयाँ भाडा तिरेको हल आइतवार अपरान्ह चार बज्दै गर्दा सुनसान थियो । अढाइ सयभन्दा धेरै कुर्सी राखिएको हलमा ५० जना पनि थिएनन् । हलमा धेरैजसो नेपालबाट पुगेका कलाकारहरुको मात्र उपस्थिति देखिएको थियो ।

रोचक कुरा त के छ भने, अवार्डको स्टेजमा केही स्ट्यान्डीहरु मात्र थिए । आयोजकले अवार्ड आयोजनाको बारेमा फ्लेक्स राख्न समेत आवश्यक ठानेन । अझ भनौ, यो अवार्ड दयनीय थियो । 

नेपाल र क्यानाडाको राष्ट्रिय गान पालैपालो बजाएर सुरु गरिएको कार्यक्रममा उद्घोषक नरेश भट्टराई मुख्य आयोजक उपस्थित हुन नसके पनि उनी प्रति सम्मान व्यक्त गरेको बताइरहेका थिए । यो अवार्डको पहिलो संस्करण गत साल काठमाडौंमा भएको थियो ।

यो अवार्डमा आयोजकले १९ विधाको भिडियोसमेत प्रोजेक्टरमार्फत् समेत देखाउन सकेका थिएनन् । अवार्डका लागि नेपालबाट लोकगायिका टीका पुन, कलाकार पल्पसा डङ्गोल, सुधिर श्रेष्ठ, गम्भिर बिष्ट, रोशन श्रेष्ठ, मानसिंह खड्का, मनोज बिक, सुष्मा अधिकारी, स्मृति शाही, सुरेन्द्र बस्याललगायत क्यानडा पुगेका थिए ।

कार्यक्रमलाई सफल बनाउन क्यानडामा सहगोग गर्ने श्याम अर्याल, इश्वर थापा, ध्रुव भट्टराई, क्रिजल अधिकारी, रियाज खान, ज्ञान भण्डारी लगायतलाई कार्यक्रम संचालकले धन्यवाद दिएका थिए ।

आयोजककै भिसा लागेन

स्रोतका अनुसार आयोजक संस्थाका अध्यक्ष अशोक विकसहित चार जनाको भिसा नलागेको पाइएको छ । भिसा नलागे पनि ३५ जना आइसकेको कार्यक्रम सफल पार्न उद्घोषक भट्टराईसहित कलाकार समूहले टोरन्टो क्षेत्रका केही नेपाली संघ संस्थाका प्रतिनिधिलाई भेटेर हार गुहार गरेका थिए ।

त्यसपछि एनसीएनसीले कार्यक्रम हुने दिनै अर्थात् आइतवार बिहानमात्र इमेलमार्फत सहभागिताका लागि आह्वान गरेको थियो । टोरन्टो क्षेत्रमा पुरानो नेपाली संस्थाका रुपमा परिचित एनसीएनसीले पठाएको इमेलमा पनि ‘प्राइभेसी’ उल्लंघन भएको गुनासो आइरहेको छ । 

केही उतै लुक्ने तयारी !

कार्यक्रममा पुगेका केही नाम चलेका कलाकार नेपाल फर्किने बताइए पनि आधा भन्दा धेरै उतै बस्ने मनसाय रहेको क्यानाडामै रहेका एक समाजसेवीले नाम नखुलाउने शर्तमा जानकारी दिएका छन् । ‘यहाँ सफा नियतले हुने गरिएका कार्यक्रमका बारेमा डेढ महिना अघि देखि नै चर्चा हुन्छ । प्रचारप्रसार गरिन्छ । निम्ता पठाउन थालिन्छ । तर यो अवार्डका बारेमा यहाँ कसैलाई जानकारी नै रहेनछ । यहाँ आएका करिब २० नेपाली कलाकारिता क्षेत्रमै भएजस्तो लाग्दैन,’उनले भने,‘सोझै भन्दा यो मानव तस्करी हुनुसक्छ ।’

अवार्डका बारेमा नेपालमै रहेका धेरैजसो रंग पत्रकारलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् । हुन पनि आयोजकको फेसबुक पेजमा अवार्डबारे स्पष्ट जानकारी छैन । १३ अप्रिलमा अन्तिम पटक अपडेट भएको पेजमा टोरन्टोमा आयोजना हुने अवार्डका बारेमा कुनै सूचना राखिएको छैन ।

अवार्डका नाममा नेपालीलाई विदेश पठाउने लहर चलिरहेका बेला ‘दोस्रो स्टार म्युजिक भिडियो अवार्ड–२०२३’ का बारेमा आशंका पैदा भएको छ । अवार्डलाई पछिल्लो समय विदेश जाने अस्त्रको रुपमा प्रयोग हुने, अवार्ड किनबेच हुने साथै अवार्डकै नाममा महँगो टिकट बेचेर आयोजकले कमाउने गरेका छन् । साथै अवार्डकै नाममा मानव तस्करी बढेको समाचारहरु पनि सार्वजनिक भइरहेका छन् । 

काठमाडौंमा प्रमाणपत्र
अवार्डका लागि केही महिना अघि काठमाडौंको जमलस्थित एल्लो प्यागोडा होटलमा नोमिनेसन प्रमाणपत्र वितरण गरिएको थियो । ‘नेपाली गीत सङ्गीत र संस्कृति संरक्षणको अभियान राष्ट्रिय एकता सहितको हाम्रो पहिचान’ भन्ने उद्देश्यका साथ प्रमाण पत्र वितरण गरिएको थियो ।

अशोक विकको अध्यक्षता र पूर्व शान्ति तथा पुन निर्माण मन्त्री सत्य पहाडीको प्रमुख आथित्यतामा सम्पन्न उक्त कार्यक्रममार्फत आधुनिक, लोक, पप तथा विभिन्न भाषा–भाषी र सांस्कृतिक म्युजिक भिडियोका ३० विधामा हुन गइरहेको अवार्डको फाइनल अवार्ड वितरण कार्यक्रम क्यानडामा हुने जानकारी गराइएको थियो ।

(क्यानाडामा रहेका संचारकर्मी र व्यवसायीको सहयोगमा)