प्रश्नै प्रश्नले अतालिएकी ‘सकम्बरी’की कुसुम


गायक प्रकाश सपुतको पछिल्लो विवादित गीत ‘सकम्बरी’बाट चर्चामा आएकी मोडल हुन् कुसुम शर्मा । यो गीतको भिडियो सार्वजनिक हुनु भन्दा अगाडि कुसुमको चर्चा म्युजिक भिडियो नगरीमा खासै थिएन । तर, अब उनलाई नचिन्ने कमै होलान् । ३ करोड भन्दा बढीले हेरेको यो गीत विवादका कारण यति धेरै भ्यूज पाउन सफल छ भन्ने कुरामा त दुइमत छैन । 

प्रकाश सपुतले गीत विवादमा रहँदा खासै मिडियाको अगाडि अनुहार देखाएनन् । बरु, गीत हिट भएर विवाद सेलाएपछि उनले मिडियासँग अन्तरक्रिया गर्ने मेसो मिलाए । उसो त, प्रकाशले मिडियासँग कुराकानीमा विज्ञापनदाताहरुकै स्तुती बढी गाए । हुन पनि हो, उनको गीतमा विज्ञापनमा ठूलो ठेली नै हुने गरेको छ । कार्यक्रममा पुग्दा पनि सपुतको गीतको सफलता भन्दा बढी विज्ञापनकै पोष्टरहरु देख्न सकिन्थ्यो । 

खैर, यो त भए प्रकाश सपुतको कुरा । अब कुसुमको कुरा गरौं । मिडियासँग खासै अन्तरक्रिया नगरेकी कुसुम आइतबार डराएकी थिइन् । उनलाई के बोल्ने र के नबोल्ने भन्ने कुराले नै पिरोलेको थियो । झन्, मिडियाकर्मीका सिधा प्रश्नले उनलाई झमेलामा पार्यो । 

कुसुमलाई एक मिडियाकर्मीले उनको प्रेमको बिषयमा प्रश्न राखिन् । यसमा कुसुमले डराउँदै जवाफ दिइन् । उनले भनिन्–‘जोसँग काम गर्यो उहीसँग नाम जोड्न थाल्यो भने त भोलीका दिनमा सबैसँग नाम जोडिएला । म कसैको प्रेममा छैन । हामी साथी मात्र हौं ।’

एउटा प्रश्न टारेकी कुसुमलाई अर्को प्रश्न आयो, तपाइलाई भोलीका दिनमा आफू पनि ‘सकम्बरी’ जस्तै हुन्छु भन्ने डर छ कि छैन ? यो प्रश्न कुसुमका लागि अपेक्षित थिएन । उनी यसमा डराइन् । धेरै पटक प्रकाश सपुततिर हेरिन् । यसपछि माइक समाउँदै उनी बोलिन्–‘म यो कुरामा सजग छु । मलाई हरेक स्टेपमा के गर्नुपर्छ भन्ने कुरा थाहा छ । अरु के भन्ने ।’ यति भन्दै प्रकाशतर्फ उनले माइक सोझ्याइन् ।