बसन्तको निर्देशनमा ‘ज्वाइँ साब’ निर्माणको घोषणा


निर्देशक बसन्त निरौलाको निर्देशनमा नयाँ फिल्म ‘ज्वाइँ साब’ निर्माणको घोषणा गरिएको छ । निर्देशक निरौलाले हलेसी मन्दिरमा पूजा गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन् । रेड आई फिल्मस्को प्रस्तुतिमा निर्माण हुने यो फिल्मको छायांकन केही महिनामै सुरु हुने निर्देशक निरौलाले जानकारी दिए । 

यो फिल्मको छायांकन नेपाल, क्यानडा र अष्ट्रेलियमा गरिनेछ । फिल्मको कथा सविन अधिकारीले लेखेका हुन् । फिल्ममा शंकर धितालको पटकथा तथा संवाद छ । 

निर्देशक निरौलाका अनुसार, फिल्मका लागि कलाकारहरुको छनोट जारी छ । ‘सबै कलाकार फाइनल भएपछि हामी पत्रकार सम्मेलन गरेर जानकारी दिनेछौं । यो फिल्मलाई कमेडी र पारिवारिक कथामा निर्माण गरिनेछ ।’

निर्देशक निरौलाले यसअघि आफूले निर्माण गरेका फिल्म भन्दा ‘ज्वाइँ साब’ उत्कृष्ट हुने समेत बताए । निरौलाको निर्देशनमा यसअघि ‘बिजयपथ, आवेग, मेला, राजनीति’ लगायतका फिल्म निर्माण भैसकेका छन् ।