कलाकारको सम्मान गर्ने ‘मुन्द्रेको कमेडी क्लब’


सुरुवाती दिनमा निकै नै कमजोर देखिएको ‘मुन्द्रेको कमेडी क्लब’का पछिल्लो समयका श्रृङ्खलाहरु सुधारिएका छन् । हाँस्य कलाकार जितु नेपाल होस्ट रहेको यो शोको तेश्रो सिजन चलिरहेको छ । तेश्रो सिजनको सुरुवातमा खस्किएको शो अहिले विस्तारै माथि उठिरहेको छ । 

युट्युबमा यो शोजको भ्यूज औषत छ । नायक राजेश हमाललाई अतिथी बनाइएको पछिल्लो शोजलाई दर्शकले निकै रुचाएका छन् । 

नेपालमा कमेडी रियालिटी शोको नाममा उपस्थिती अतिथीलाई नै नराम्रोसँग गिज्याउने, उनीहरुको मजाक बनाएर आफू हिट हुने प्रचलन बढ्दै गएको छ । रोष्टको नाममा कलाकारप्रति दर्शकको धारणा नै नकारात्मक बनाउन केही शोजहरु अगाडि बढेको देखिन्छ । यसैले, बेलाबखत कलाकारहरुले नकारात्मक सोच फैलाउने कमेडी शोजहरुमा जान अस्विकार पनि गर्दै आएको पाइन्छ । 

तर, जितु नेपालले संचालन गर्ने ‘मुन्द्रेको कमेडी क्लब’मा पुग्ने हरेक कलाकारलाई उच्च सम्मान दिइएको पाइन्छ । फिल्म प्रचारका लागि जाने वा मुख्य अतिथी बनेर पुग्ने कलाकारहरुलाई शोमा रोष्ट गरिदैन । उनीहरुलाई इज्जत दिएर शोजलाई जितुले संचालन गर्दै आएका छन् । जसकाकारण, कलाकारहरु पनि शोजमा पुग्दा सहज महशुश गरेको पाइन्छ । 

पछिल्लो प्रशारित भागमा पुगेका नायक राजेश हमालले शोमा खुलेरै रमाइलो गरे । शोमा सहभागी अन्य हाँस्य कलाकारहरुले पनि अतिथीहरुलाई असर पर्ने गरि रोष्ट वा व्यङ्ग्य गरेको पाइदैन । 

नेपालका अधिकांश कमेडी रियालिटी शोहरु भारतको ‘कपिल शर्मा शो’बाट प्रभावित छन् । कपिलले शोमा पुग्ने अतिथी कलाकारको कहिले पनि मजाक बनाएको पाइदैन । बरु, उनीहरु आफै आफै एक अर्काको रोष्ट गर्छन् ।

कलाकारलाई भने उच्च सम्मान दिने गरेका छन् । तर, पनि यो शोजले दर्शकलाई पेट मिचिमिची हसाँएको छ । नेपालमा ‘मुन्द्रेको कमेडी क्लब’ यो कुरामा अगाडि देखिएको छ ।