काभ्रेमा हुदै दोस्रो संस्करणको ‘नेपाल ग्रामीण फिल्म महोत्सव’

सेलिब्रेटी नेपालले आयोजना गर्दै आएको ‘नेपाल ग्रामीण फिल्म महोत्सव’को दोस्रो संस्करण काभ्रेपलान्चोकको भकुन्डेबेसीमा हुने भएको छ ।

गत वर्षको वैशाखमा गोरखाको लाप्राकमा भएको महोत्सव यस पटक भने काभ्रेको बनेपामा हुने सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिइएको छ । आगामी जेठ २५ गतेदेखि २७ गतेसम्म हुन लागेको महोत्सवमा २६ वटा फिल्महरू सहभागी हुने आयोजक संस्था सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले बताएका छन् ।

स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्धन गर्नु र नेपाली फिल्म हेर्ने बानी बसाल्नु भन्ने मुख्य उद्देश्य रहेको महोत्सवमा गाउँले परिवेशमा बनेका स्वदेशी फिचर तथा लघु फिल्म, डकुमेन्ट्री तथा भाषा-भाषीका फिल्महरू स्क्रिनिङ हुनेछन् । नेपाली मौलिक तथा ग्रामीण कथावस्तुमा बनेका फिल्महरू मात्र सहभागी हुने महोत्सवका लागि गत फागुनमा फिल्म दर्ता खुल्ला गरिएको थियो ।  महोत्सवमा स्क्रिनिङ हुने फिल्महरूमध्ये उत्कृष्टलाई अवार्ड समेत प्रदान गरिने सापकोटाले जानकारी दिए । 

पत्रकार सम्मेलनमा अध्यक्ष सापकोटाले भने, ‘दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु, नियमित नेपाली फिल्म हेर्ने बानी बसाल्नु, स्थानीय भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको बताए । अघिल्लो पटकको भन्दा यो संस्करण थप वृहत् र व्यवस्थित हुने उनको भनाइ छ ।’ 

यो महोत्सवमा चलचित्र विकास बोर्डले सहकार्य रहने बताइएको छ । यस्तै तीन दिनसम्म चल्ने महोत्सवको खर्च १५ लाख अनुमान गरिएको छ । स्थानीयरूपमा यस महोत्सवको संयोजन सुरज अधिकारीले गर्ने भएका छन् ।