सरकारको बजेटमा परेन फिल्म क्षेत्र, फिल्मीकर्मीको विरोध


नेपाल सरकारले सोमबार बेलुकी सार्वजनिक गरेको नयाँ आर्थिक बर्षको बजेटमा नेपाली फिल्म क्षेत्रलाई सम्बोधन गरेन । काभ्रे र दोलखामा इन्डोर स्टूडियो बनाउने भन्ने भाकालाई सरकारले यसपटक पनि निरन्तरता दिनु बाहेक अरु कुनै पनि बिषयमा सम्बोधन भएन । सरकारले सार्वजनिक गरेको नयाँ बजेटलाई लिएर फिल्म क्षेत्रमा चर्को विरोध भैरहेको छ । 

चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले ‘बिदेशी फिल्मको पक्षपोषणको हामी घोर विरोध गर्दछौं’ भन्दै सामाजिक संजालमा असन्तुष्टी जनाएका छन् । 

फिल्म क्षेत्रसँग सम्बन्धीत अन्य विभिन्न संघसंस्थाका सदस्यदेखि फिल्मीकर्मीहरुले सरकारले ल्याएको नयाँ बजेटमा फिल्म क्षेत्रलाई कुनै पनि तरिकाले सम्बोधन नगरेको भन्दै सामाजिक संजालमा आक्रोश व्यक्त गरिरहेका छन् । 

कतिपयले भने कलाकार संघले सिंहदरबार र विमानस्थल प्रवेशमा कलाकारलाई सहजता दिनुपर्ने माग गरेको बिषय सम्बोधन भयो कि भएन भन्दै प्रश्न पनि उठाएका छन् । केही फिल्मीकर्मीले फिल्म क्षेत्रलाई राजनीतिक दलहरुले प्रयोग मात्र गरेको भन्दै अब हरेक कार्यक्रममा राजनीति दलका नेताहरुलाई अघोषित रुपमा बहिष्कार गर्नुपर्ने भनाई राखेका छन् । 

नेपाली फिल्म क्षेत्रलाई सरकारले जहिले पनि झारा टार्ने बजेट मात्र प्रस्तुत गर्दै आएको छ । जसकाकारण, फिल्म क्षेत्रको विकास र विस्तारमा सरकारी तबरबाट कुनै  सहयोग नभएको देखिन्छ ।