के अनमोलसँग ‘फर्की फर्की’मा काम गर्दैछिन् रेश्मा ?


टिकटकबाट उदाएर मोडलिङमा चर्चामा रहेकी कलाकार हुन् रेश्मा घिमिरे । उसो त उनी टिकटकमा हिट हुनु अगाडि नै फिल्ममा काम गरेकी थिइन् । तर, उनले काम गरेको डेब्यू फिल्म नै सफल हुन सकेन । उनै, रेश्माले अभिनय गरेको दोस्रो फिल्म ‘अन्तिम संस्कार’ असारको ८ गतेबाट रिलिज हुँदैछ । 

यो फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा रेश्मालाई  पत्रकारहरूले किन यत्रो बर्ष फिल्ममा काम नगर्नुभएको भनेर प्रश्न गरे । रेश्माले विशेष गरि, आफ्नो पढाइलाई मुख्य कारण बताइन् । 

तर, अब आफूले निरन्तर फिल्ममा काम गर्ने उनको भनाई छ । तर, यसो भन्दै गर्दा रेश्मा अमेरिका जाने तयारीमा छिन् । उनै, रेश्माले फिल्म ‘फर्की फर्की’मा काम गर्न लागेको चर्चा समेत छ । तर, रेश्माले फिल्म साइन गरिसकेकी भने छैनन् । 

रेश्माले भनिन्–‘यो विषयमा अहिले नै पक्का भएको छैन । गर्न पनि सक्छु होला ।’ रेश्माको अमेरिका जाने सेड्यूल र फिल्मको छायाङ्कनको सेड्यूल एउटै भयो भने उनले काम गर्न नसक्ने अवस्था छ ।

यदि, अमेरिका जाने सेड्यूल भन्दा अगाडि नै फिल्मको छायांकन सुरु भयो भने उनले फिल्ममा काम गर्ने छिन् । यो फिल्मका लागि रेश्मासँग निर्माणपक्षले सबै कुरा टुङ्ग्याएको छ । मात्र उनको सेड्यूल फिल्मका लागि बाधक बन्न सक्छ । 

सुयोग गुरुङको निर्देशनमा तयार हुने फिल्मको छायांकन भदौ वा दशैँपछि सुरु गर्ने तयारीमा निर्माता रोहित अधिकारी छन् । फिल्ममा अनमोलको जोडीको रुपमा भने जसिता गुरुङले काम गर्ने छिन् ।