थ्रिलर र सस्पेन्स युक्त ‘अन्तिम संस्कार’को ट्रेलर

फिल्म ‘अन्तिम संस्कार’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

निमार्ण टिमले बुधवार एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो । फिल्ममा ‘मर्डर मिस्ट्रि ’को कथालाई समावेश गरिएको छ ।

दीप शाहीको निर्देशनमा बनेको फिल्मको ट्रेलरमा मुख्य पात्रहरू विजय लामा, दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचु राई, विशाल पहारी, कृष्णभक्त महर्जनलाई देखाइएको छ ।

थ्रिलर र सस्पेन्स युक्त ट्रेलर हेर्दा एक हत्या घटनाको रहस्यको वरपर कथा घुमेको छ । जसमा रहस्यमय हत्याको अनुसन्धानमा जुटेको प्रहरी टोली र केही कुराको खोजीमा बुबा-छोराले गरेको कष्टकर यात्रालाई देखाइएको छ ।

साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको फिल्ममा भाइराजा थापा, राजु कुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रबिन्द्र श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । विनोद सुवेदी क्षितिज निर्माता रहेको चलचित्र सामाजिक एवं सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो ।

ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेता लामाले यो फिल्मको कथावस्तु नितान्त नयाँ रहेको बताए । लामाले भने ‘यो फिल्म हाम्रो आफ्नो कथा हो । नेपालीहरूको कथा हो । यसमा रहस्य पनि छ । यसमा परम्परा पनि छ । यसमा इमोशन पनि छ । एकदमै मेहनत गरेका छौँ ।’ 

दर्शकहरूले रुचाउनुहुन्छ भन्ने पूर्ण विश्वास रहेको लामाले बताए । यस्तै, निर्माता, निर्देशक र कलाकारले समेत जोखिम मोलेर काम गरेको अनुभव उनले सुनाए ।

त्यस्तै, अभिनेत्री दीयाले आफूले पहिले पहिले गरेको आफ्नो क्यारेक्टर भन्दा  ‘अन्तिम संस्कार’ मा आफ्नो भूमिका फरक रहेको बताइन्। निर्देशक प्रदीप शाहीले आफूले लामो समय लन्डन बस्दा सिकेको कुरालाई फिल्ममा सक्दो उतार्ने कोसिस गरेको बताए। 

नेपालमा विदेशी फिल्मको वितरण गर्दै आएको कम्पनी एप्पल इन्टरटेनमेन्टले यो फिल्मलाई देशव्यापी वितरण गर्नेछ । 

शाहीको निर्देशनमा बनेको पहिलो फिल्म ‘१९१५ लेजेन्ड अफ गोर्खाज’ अमेजन प्राइममा समेत रिलिज भइ सकेको छ । फिल्ममा विजय, दीया, रेश्मा, एवनराज उप्रेती, त्रिचु, विशाल, कृष्णभक्तका अलावा श्याम राई, पासाङ लामा, विकास अधिकारी, सरोज खालिङ्ग राई , सस्मिता गिरी, दिग्गज खत्री, सरोज कुमाल, धर्मानन्द आचार्य लगायत कलाकारको अभिनय रहेको छ।

यस्तै, बाबु श्रेष्ठको छायाकंन रहेको फिल्ममा रुपेश गुरुङको सम्पादन छ ।