राष्ट्रपतिप्रति मनिषा कोइरालाको आक्रोश: 'लेन्डुप दोर्जेको याद आयो'

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणकै दिन विवादित नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना सुरू भएको छ ।

राष्ट्रपति पौडेलले संबैधानिकरुपमा अस्तित्वमै नरहेको नागरिकता विधेयक प्रमाणीकरण गरेपछि भारतलाई रिझाएर सत्ता जोगाउन खोजेको भन्दै सामाजिक सञ्जालमा आक्रोश व्यक्त भएको छ । पौडेललाई देश सिध्याउन राष्ट्रपति बनाइएको भन्दै आजको दिन इतिहासकै कालो दिन भएको उल्लेख पनि गरेका छन् ।

भारतले पास गर्न दबाब दिइरहेको नागरिकता विधेयक प्रमाणीकरण गरिएपछि यो विषयको संस्थागत रुपमै विरोध गरेको छ भने अन्य कतिपय राजनीतिक दल र जनस्तरबाट चर्को विरोध भइरहेको छ ।

यसअघिका राष्ट्रपति विद्यादेवी भण्डारीले रोकिदिएको सो विधेयक पारित गरेर सत्ताको सौदाबाजी गरिएको भन्दै आक्रोश व्यक्त भएको हो। अघिल्लो संसदले दुईपटक पारित गरेको विधयेक तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेकी थिइन। अघिल्लो संसदको म्याद सकिएसँगै स्वतः अस्तित्व सकिएको सोही विधयेक मन्त्रिपरिषद्को सिफारिसमा भन्दै राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।

प्रमाणीकरण गर्नुपर्ने विधयेक राष्ट्रपति समक्ष विधेयक उत्पत्ति भएको सदनको सभामुख वा अध्यक्षले प्रमाणित गरी पेश गर्नुपर्ने संबैधानिक व्यवस्था छ। तर, नागरिकता विधयेक सरकारले पेश गरेर प्रमाणीकरणका लागि आग्रह गरेको थियो। राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा ‘नेपाल सरकार, मन्त्रिपरिषदको निणर्य र पत्रबमोजिम’ प्रमाणीकरण गरिएको उल्लेख छ। राष्ट्रपतिले प्रमाणीकरण गरेको यही नागरिकता विधयेक विवादित भएपछि राजनीतिक टिप्पणी दिने क्रममा उनले नागरिकता विधेयकका नाममा नेपालमा पनि सिक्किमी राजा लेन्डुप दोर्जेहरु जस्तै देखिन थालेको बताएकी छन्। 

अभिनेत्री मनिषा कोइरालाले राष्ट्रपति पौडेललाई ‘नयाँ लेन्डुप दोर्जे’को संज्ञा दिएकी हुन्। कोइरालालाले सामाजिक ट्वीट गर्दै लेखेकी छन्, ‘उहाँलाई यो कुर्सी दिइएको थियो भन्ने सोच्न कठिन छैन । लेन्डुप दोर्जेको याद आयो ।’