नवलले टेवलमुनीबाट भन्सार तिरिन्छ भनेपछि चर्किए उदय


चलचित्र पत्रकार संघ नेपालले ‘बजेटमा चलचित्र उद्योग’ नाममा अन्तरक्रिया कार्यक्रम आज आयोजना गर्यो । तर, उक्त अन्तरक्रिया कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का र चलचित्र संघका पूर्व अध्यक्ष तथा हल व्यवसायी प्रदीपकुमार उदयविचको चर्काचर्कीले मुख्य बिषयलाई नै ओझेलमा पारिदियो । 

आफ्नो भनाई राख्ने क्रममा निर्माता संघका अध्यक्ष खड्काले सरकारले विदेशी फिल्म आयातका लागि १ प्रतिशत भन्सार लगाएर नेपाली फिल्ममाथि खेलवाड गरेको आरोप लगाए । उनले १ प्रतिशत भन्सार लगाउनुपर्ने कारण के हो भनेर प्रश्न गरेका थिए । आफ्नो भनाई राख्ने क्रममा उनले सबै बितरकले ३० लाखमा किनेको फिल्मको ३० लाख बराबरको भन्सार नतिर्ने र टेबलमुनीबाट काम हुने तर्क गरे ।

उनले यो तर्क राखेपछि चलचित्र संघका पूर्व अध्यक्ष उदय चर्किए । उनले, नवललाई आफ्नो संस्थाका सदस्यहरुलाई विना प्रमाण आरोप नलगाउन चेतावनी दिए । यतिमात्र होइन, उनले निर्माताहरुले पनि कमाई अनुसारको भन्सार नतिरेको प्रमाण देखाइदिन सक्ने चेतावनी दिए । 

यसपछि, केही समय माहोल गर्मियो । नवल र उदयले अन्तरक्रियाको मुख्य बिषयबाट पर हटेर एक अर्कालाई आरोप लगाउन थालेपछि कार्यक्रम संचालकले विचमै रोक्नु परेको थियो ।

निर्माता संघका अध्यक्ष खड्काले भन्सार तिरेर विदेशी फिल्म ल्याउँदा टेबलमुनीबाट रकम गैरहेको आरोप दोहोर्याए । उदयले भने यो बिषयमा सरकारले छानबीन गर्नुपर्ने दाबी गरे । यो बिषय फिल्मकर्मीले उठाउने बिषय नै नभएको उनको तर्क थियो । 

यस्तै, चलचित्र निर्माता संघ नेपालका अध्यक्ष नवल खड्काले खेलाडीहरुलाई करोडौं रुपैयाँ दिन सक्ने सरकारले फिल्म क्षेत्रलाई १–२ करोड पनि दिन नसक्ने भन्दै प्रश्न गरेका थिए । नवलसँग चर्काचर्की नै परेपछि हलबाट बाहिरिएका उदयले फिल्म क्षेत्र अगाडि बढ्न नसक्नुको कारण एक अर्काको अस्तित्व स्विकार गर्न नसक्नु रहेको बताए ।