‘मीराः स्याडो अफ अ रेन्बो’को फर्स्टलुक पोस्टर सार्वजनिक

फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

सार्वजनिक पोस्टरमा एक बच्चामा देखिएको अस्वाभाविक सजग मानसिक स्थिति (अटिजम)को समस्या र कसैसँगको प्राइभेट सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथामा बनेको र दुई महिला र एक बालकलाई राखिएको छ ।

फिल्मका अभिनेत्रीद्वय सुरविना कार्की र अनिता पण्डितसँगै बाल कलाकार आश्वि घिमिरे पोस्टरमा प्रस्तुत छन् ।

निर्देशक अनिता पण्डितले सार्वजनिक पोस्टरले यो फिल्मको थिम बुझाउने बताइन् । उनले भनिन्, "अटिजम भनेको कुनै रोग होइन । यो कहिल्यै ठिक नहुने भन्ने सोचको विरुद्ध हामीले फिल्ममा कथा उठान गरेका छौँ । अटिजम एक अवस्था मात्र हो र यो अवस्थामा रहेका बच्चालाई आफैले सामान्य अवस्थामा ल्याउन सकिन्छ भन्ने प्रसङ्ग फिल्ममा पाइन्छ ।" उनले रिलेशनसिपलाई एक्सप्लोर गर्न चाहने एक आमाको सङ्घर्ष पनि फिल्ममा रहेको बताइन् । 

उनले भनिन्, "प्राकृतिक रूपमा नै फरक महसुस गर्ने महिलाहरूको कथा समेत यस फिल्ममा रहेको छ । बच्चाको अटिजम समस्यासँगै रिलेशनसिप एक्सप्लोर गर्न चाहने आमाको कथा यसको प्रमुख कथा हो ।" 

फिल्ममा उनी स्वयंको कथा, पटकथा तथा संवाद लेखन छ । निर्माता पनि उनी नै हुन् ।

यस चलचित्रमा सुरविना कार्की, निशान चौहान, कैलाश रावल र रोशनी कार्कीको पनि प्रमुख अभिनय रहेको छ । आश्वि फिल्मसले फिल्म निर्माण गरेको हो । पोस्टरमा रिलिजबारे भने केही खुलाइएको छैन ।