प्रियंका, धिरज, अरुण र श्रद्धाले उचाले भारतको ‘क्याप्टिभेटिङ क्रियसन अवार्ड’


आइतबार बेलुकी भारतीय राष्ट्रिय गानसँगै सुरु भएको ‘क्याप्टिभेटिङ क्रियसन अवार्ड’मा नेपाली फिल्मका केही कलाकारहरूले समेत अवार्ड प्राप्त गरेका छन् । भारतका चर्चित कलाकार रञ्जित रेको हातबाट नायिका प्रियंका कार्की, श्रद्धा क्षेत्री, नायक धिरज मगर, अरुण क्षेत्रीले विभिन्न शीर्षकमा यो अवार्ड उचालेका थिए । 

कार्यक्रममा संगीतकार शम्भुजित बास्कोटालाई बलिउड नायिका भाग्य श्रीले सम्मान पत्रबाट सम्मानित गरेकी थिइन् । 

अवार्ड समारोहमा बलिउडका कलाकारहरू विन्दु दारा सिंह पनि उपस्थित थिए । कार्यक्रममा हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, व्यापारी विनोद चौधरी लगायत पनि पुगेका थिए । 

अवार्ड प्राप्त गर्दा निकै खुशी लागेको नेपाली कलाकारहरूले बताएका छन् । डेब्यू नायिकाको अवार्ड प्राप्त गर्दा आफू निकै खुशी भएको नायिका श्रद्धा क्षेत्रीले बताइन् । 

कार्यक्रममा बोल्दै कलाकार रञ्जित रेले नेपाल जस्तो सुन्दर देशमा आउन पाउँदा उत्साहित भएको सुनाए । 

पाँचौ सँस्करण भारतमा आयोजना गरेको आयोजकले छैटौँ सँस्करण भने नेपालका र्‍याडिसन होटलमा आयोजना गरेको हो ।