‘आदिपुरुष’ बिरूद्द दिल्ली अदालतमा मुद्दा

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ थप विवादमा परेको छ ।

 ‘आदिपुरुष’ रिलिज हुनुअघि नै विवादमा परेपनि अहिले रिलिजपछि झनै विवादमा परेको हो। यो फिल्मले नेपालमा पनि विवाद ल्याएको थियो।

फिल्ममा देखाइएको रामायणको कथा र संवादको स्तरसँग छेड छाड गरेर दर्शकको भावनामा चोट पुर्‍याएको भन्दै हिन्दू सेनाले ‘आदिपुरुष’ विरुद्ध दिल्ली उच्च अदालतमा रिट दायर गरेको छ । हिन्दू सेनाले आदिपुरुष’ को सार्वजनिक प्रदर्शनमा प्रतिबन्ध लगाउन माग गर्दै दिल्ली उच्च अदालतमा रिट दायर गरेको हो ।

हिन्दू सेनाका राष्ट्रिय अध्यक्ष विष्णु गुप्ताले ‘आदिपुरुष’ विरुद्ध दिल्ली उच्च अदालतमा जनहित याचिका दायर गरेको भारतीय सञ्चार माध्ययमहरुले उल्लेख गरेका छन्।

निवेदनमा ‘आदिपुरुष’ लाई फिल्ममा धर्मगुरु, पात्र र व्यक्तित्वलाई गलत ढंगले प्रस्तुत गरी हिन्दू समुदायको भावनामा चोट पुर्‍याएको आरोप लगाइएको छ । महर्षि वाल्मीकि जस्ता लेखकले लेखेको रामायणमा हिन्दू धर्मका पात्रहरूलाई जसरी भनिएको छ, त्यसैगरी फिल्ममा नदेखाई गलत रुपमा ब्याख्यासमेत गरी नयाँ नयाँ अविश्वनिय दृश्य देखाइएको छ । रामलाई जीसस जस्तो देखाईएको, सुनको दरबारमा बस्ने रावणलाई अजिंगरको घेरामा बसेको देखाईएको मात्रै नभई राम, सीता, लक्ष्मण, रावणका संबाद पनि कतिपय ठाउँमा रयापरको जस्तो भएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।

निर्देशक ओम राउतको ‘आदिपुरुष’ हिन्दू महाकाव्य रामायणमा आधारित फिल्म हो । फिल्ममा प्रभास ‘भगवान राम’, कृति सेनन ‘सीता’ र सन्नी सिंह ‘लक्ष्मण’ को भूमिकामा छन् । यो सँगै सैफ अली खानले ‘रावण’ को भूमिका निभाएका छन् ।

ट्रेलर रिलिज भएदेखि नै विवादमा परेको यो फिल्मपछि निर्माताले धेरै परिवर्तन गर्नुपरेको थियो । अहिले यो फिल्म रिलिज भएको छ, जसलाई हेरेपछि दर्शकले मिश्रित प्रतिक्रिया दिइरहेका छन् ।

नेपालमा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संबाद राखे पछि काठमाडौं महानगरपालिकाले सो फिल्मको प्रदर्शनमा रोक लगाएको थियो । अन्ततः सेन्सर बोर्डले सो संबाद विप गरे पछि नेपालमा प्रदर्शन गरिएको थियो ।