'आदिपुरुष'का संवाद लेखक मुंतशिर भन्छन्- 'नेपाल सन् १९०३ सम्म भारत नै थियो र अहिले पनि अलग ठान्दिन'

शुक्रबार रिलिज भएको दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ थप विवादमा परेको छ । यो फिल्मको संवादका कारण निकै आलोचना भइरहेको छ । ‘आदिपुरुष’को संवादमा भएका यस्ता आलोचनाको जवाफ लेखक मनोज मुंतशिरले दिएका छन् । 

यो फिल्मले नेपालमा पनि विवाद ल्याएको थियो। नेपालमा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद राखे पछि काठमाडौं महानगरपालिकाले सो फिल्मको प्रदर्शनमा रोक लगाउन र संवाद ३ दिन भित्र सच्याउन चेतावनी दिएका थिए । । अन्ततः सेन्सर बोर्डले सो संवाद विप गरे पछि नेपालमा प्रदर्शन गरिएको थियो । त्यसपछि मेयर बालेनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेख्दै फिल्ममा रहेको आपत्तिजनक अंश हटाउन पहल गर्न पत्राचार पनि गरेका छन् ।

जनताको प्रश्नको सामना गरिरहेका मनोज मुंतशिरले आजतकसँग कुरा गर्दै भने, ‘जनताको कठघरामा उभिनु ठूलो सम्मानको कुरा हो ।’ उनले रामायणमा आधारित फिल्मका यी संवादहरू भूलवश यसरी लेखिएका नभई जानाजानी यसरी राखिएको बताए । उनले भने, ‘किन हनुमानजीको मात्र संवादको कुरा भइरहेको छ । मानिसहरूले भगवान श्रीरामको संवादको बारेमा पनि बोल्नुपर्छ।’

आफ्नो पक्ष राख्दै मनोजले भने, ‘रामायण हामीले बनाएका होइनौं, हामी रामायणबाट प्रेरित हौं।’ राम चरितमानस लेख्ने कवि तुलसीदासको उल्लेख गर्दै उनले थपे, ‘बाबा तुलसीदासले भन्नुहुन्छ– राम अवतार धेरैमा, रामायण शत कोटी अपरा। रामको अवतारका धेरै पक्षहरू छन् र रामायणलाई सयौं तरिकाले वर्णन गर्न सकिन्छ।’

‘आदिपुरुष’ मा बजरंगको चरित्रको संवादलाई लिएर धेरैले आपत्ति जनाएका छन् । पुच्छरमा आगो लगाउँदा यो पात्र भन्छ - ‘तेल तेरे बाप का, आग भी तेरे बाप की और जलेगी भी तेरे बाप की।’ यो संवादबारे मनोजले भने, ‘रामायण साढे सात हजार वर्षअघि लेखिएको थियो, त्यसोभए बाबा तुलसीदासले साढे चार सय वर्षअघि अवधीमा किन लेखे ? प्रत्येक रामायण पाठकको मिशन भनेको यसलाई समकालीन भाषामा बोल्न, मानिसहरूलाई पहुँचयोग्य बनाउनु हो। रामायणको कथाको पहिलो उद्देश्य भनेको यसलाई टाढा टाढासम्म मानिसहरूसम्म पुर्‍याउनु हो।’

उनले नबुझेको भाषालाई युवाले सम्मान गर्न सक्ने तर त्यससँग जोडिन नसक्ने बताए । त्यसैले उनले संवादहरू यस्तो भाषामा लेखे, जुन आजका युवाहरूको भाषा हो ।

फिल्मको संवादको भाषाले आहत भएका मानिसहरूका लागि मनोजले भने, ‘जसले रामानन्द सागरजीको रामायण पहिले हेरेका छन् उनीहरूलाई यो भाषा मन नपर्ला। तर हामी ती मानिसहरूसँग हात जोडेर माफी माग्नेछौं। किनभने हाम्रो पहिलो उद्देश्य रामको बारेमा केही थाहा नभएका १०–१२ वर्षका बालबालिकासँग जोड्ने थियो।’

‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने विवादित डायलगलाई लिएर ब्यापक विरोध भैरहँदा लेखक मुंतशिरले राष्ट्रको रुपमा नेपाल र भारत आज पनि अलग नरहेको तर्क गरे ।

‘जानकी भारतीय छोरी हुन्’ भन्ने संबादका विषयमा मनोजले भनेका छन्– ‘नेपालको विरोध मैले बुझन सकेको छैन, यस कारण बुझन सकिन जब कि कहानी जब त नेपाल भारतको अंश रहेको थियो । त्यो हामीले भारतकी बेटी भनिरहेको छौं सितालाई । नेपाल कुन कारण भारतको थियो । नेपाल त १९०३ या १९०४ मा हो जब कि नेपाल भारतबाट अलग भएको हो । नेपाल भेरी मच इण्डीया भारतनै थियो नेपाल । त्यसैले सिता भारतकी थिइन् त्यो हिसाबले । त्यसैले नेपालीको विरोध मैले बुझन सकेको छैन । तर एउटा कुरो के छ भने उनीहरुको विरोध छ भने हाम्रो भाइ हुन् । हामी नै हौं । म नेपालीहरुलाई अलग मान्दै मान्दिनँ । उनीहरुको अरु कुनै विरोध छ भने मसँग कुरा गरुन म नेपालीहरुलाई सम्झाउछु । जुन कुरा भइरहेको छ सिता भारतकी छोरी हुन् भनेर साथै राष्ट्रको हिसाबले नेपाल र भारत आज पनि अलग हैनन् । हुन सक्छ देशका हिसाबले अलग हुन । हुनसक्छ जियोग्राफीको हिसाबले अलग हुन् । राष्ट्रको हिसाबले यस्ता धेरै कुरा छन् भारतीय राष्ट्रताको कुरा नेपालसम्म सुनिएको छ ।’

यो भनाइ सार्वजनिक भएको भिडियोको १४ मिनेट ९ सेकेन्ड १५ मिनेट १५ सेकेन्ड सम्म रहेको छ । अब मनोजले संवादबारे स्पष्टीकरण दिएपछि फिल्मको आलोचना गर्नेले कस्तो प्रतिक्रिया दिन्छन् भन्नेमा सबैको ध्यान छ । 

‘आदिपुरुष’ को संवादलाई लिएर विवाद यति हदसम्म बढेको छ कि फिल्मलाई लिएर पनि विवाद भएको छ । ‘हिन्दू सेना’ नामक संगठनले ‘आदिपुरुष’ विरुद्ध दिल्ली उच्च अदालतमा जनहित याचिका पनि दायर गरेको छ। संस्थाले आफ्नो निवेदनमा ‘आदिपुरुष’ले भगवान राम, रामायण र हाम्रो संस्कृतिको खिल्ली उडाएको दाबी गरेको छ ।