के सेन्सर बोर्डले ‘परस्त्री’को सेन्सर रोकेर नेपाली फिल्ममाथि विभेद गरेको हो ?


असारको १५ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘परस्त्री’को सेन्सर पास मंगलबार भएन । सेन्सर बोर्डले केही दृश्य छोटो बनाउन र केही दृश्यमा ब्लर गर्न भनेपछि यसका निर्माता तयार भएनन् । 

विशेषगरि, फिल्ममा समावेश चुम्बन र बेडसिनको मात्र नभएर केही हिंसात्मक दृश्यमा समेत सेन्सरले आपत्ती जनाएको हो । फिल्ममा समावेश यस्ता दृश्यहरुलाई काँटछाट गरेर सेन्सर बोर्डले ‘पीजी सर्टिफिकेट’ दिने तयारी गरेको थियो । 

तर, फिल्मका निर्माताले बोर्डले भनेका दृश्यहरु काट्दा फिल्मको कथावस्तु र यसको मर्म नै मर्ने भएकाले दृश्य काट्ने कुरामा असहमति जनाए । जसकाकारण, फिल्मको सेन्सर पास हुन सकेन । 

सुरज पाण्डेको निर्देशनमा तयार भएको यो फिल्मलाई सेन्सरमा हेरेपछि सेन्सर बोर्डका सदस्यहरुले प्रशंसा भने गरेका थिए । फिल्म निकै राम्रो बनेको र यसको कथावस्तु शानदार रहेको प्रशंसा बोर्डका सदस्यहरुले गरेका थिए । 

फिल्ममा समावेश केही अन्तरंग दृश्यका कारण सेन्सर रोकिएको समाचार मिडियामा सार्वजनिक भएको थियो । यो बिषयमा मेरो फिल्मसँग कुरा गर्दै बोर्डका एक सदस्यले भने–‘फिल्ममा समावेश हरेक दृश्यलाई हामीले ध्यानपूर्वक हेरेर सेन्सर पास गर्नुपर्छ । आदिपुरुषको एउटा संवादले यति ठूलो घटना भयो । यसैले, समाजमा स्विकार्य हुने र नहुने दृश्यमा विशेष ध्यान दिनुपर्ने हुन्छ । यसैले, त सरकारले सेन्सर बोर्ड निर्माण गरेको हो । होइन भने, सेन्सर बोर्डको औचित्य के भयो रह्यो होइन र ?’

फिल्ममा समावेश ३–४ वटा दृश्यमा मात्र ब्लर गर्न र छोटो बनाउन भनिएको सेन्सर बोर्डका ती सदस्यले बताए । यस बिषयमा निर्माणपक्षले के गर्ने निर्णय गरेको छैन । फिल्मका निर्देशक सुरज पाण्डेले सामाजिक संजालमा स्टाटस लेख्दै हिन्दी र अंग्रेजी फिल्मलाई सहज रुपमा पास गरेपनि नेपाली फिल्ममा भने सेन्सर बढी नै कैँची चलाउने गरेको आरोप लगाएका छन् । उनीहरुले अब आफूहरुलाई न्याय कसले दिन्छ भन्दै प्रश्न समेत गरेका छन् । 

शिल्पा मास्के, कोशिश क्षेत्री, गौरब बिष्टको मुख्य भूमिका रहेको यो फिल्मलाई दीपेन्द्र के खनालले लेखेका हुन् । फिल्ममा शर्मिला पाण्डेको लगानी छ ।