‘परस्त्री’को रिलिज एक दिन अघि सर्यो, भोलीबाटै हलमा लाग्ने


असारको १५ गतेलाई रिलिज मिति तोकेर आक्रामक प्रचारमा लागेको फिल्म ‘परस्त्री’को टिमले अन्ततः फिल्म रिलिजको मितिमा हेरफेर गरेको छ । पर्सी शुक्रबारबाट रिलिज हुने भनिएको यो फिल्म अब भोली बिहिबारबाट रिलिज हुने भएको छ । 

भोली बिहिबार नेपाल सरकारले सार्वजनिक बिदा समेत दिएकाले यसको फाइदा फिल्मको ओपनिङ व्यापारमा हुन सक्छ । 

भोलीबाट एक हिन्दी र एक अंग्रेजी फिल्म समेत रिलिज हुने भएकाले ‘परस्त्री’को टिमले एक दिन अगाडि नै हलमा फिल्म रिलिज गर्ने निर्णय गरेको हो । शुक्रबार फिल्म रिलिज गर्दा शोमा समस्या हुने भएपछि वितरक र निर्माताले यो निर्णय गरेका हुन् । 

सुरज पाण्डेको निर्देशनमा तयार भएको फिल्ममा शिल्पा मास्के, कोशिश क्षेत्री, गौरब बिष्ट लगायतका कलाकारको अभिनय छ । 

फिल्मको टिमले भारतका चर्चित मिडियाहरुमा फिल्मको प्रचार समेत गरेको छ । फिल्मका कलाकार, निर्माता तथा निर्देशकसहितको टिम ५ दिनसम्म भारतमा रहेर फिल्मको प्रचार गरेको थियो । 

फिल्म ‘परस्त्री’ हेर्नका  लागि दर्शक समेत उत्सुक रहेकाले  वितरकले यो निर्णय लिएका हुन् । लामो समयदेखि देखिएको व्यापारिक खडेरीलाई नेपाली फिल्म ‘परस्त्री’ले चिर्ने अपेक्षा गरिएको छ । शर्मिला पाण्डेले निर्माण गरेको यो फिल्मलाई दीपेन्द्र के खनालले लेखेका हुन् ।