कामको प्रशंसा भएपनि यी नायिकाहरुलाई ‘लक’ लागेन


असारको १५ गतेबाट रिलिज भएको फिल्म ‘परस्त्री’ले बक्स अफिसमा सुखद व्यापार गर्न सकेन । फिल्मको व्यापार निकै नै कमजोर छ । यो फिल्ममा नायिका शिल्पा मास्केको मुख्य भूमिका छ । शिल्पाले फिल्ममा चुनौती मोलेरै काम गरेकी छिन् । फिल्म भित्र उनको बोल्ड दृश्य छ । २ पुरुषसँग रोमान्टिक  देखिएकी शिल्पाको अभिनय उत्कृष्ट छ ।

तर, फिल्म नचल्दा दर्शकको ठूलो संख्याले उनको काम हेर्न पाएनन् । शिल्पा यो अर्थमा अभागी देखिइन् । फिल्मको प्रचारका लागि नेपालदेखि भारतसम्म पुगेकी शिल्पाले निकै मिहिनेत पनि गरिन् । तर, बक्स अफिसमा फिल्मको व्यापार दयनीय बन्दा शिल्पाको कामको मुल्यांकन हुन नै पाएन । 

शिल्पाले यसअघि पनि ‘ब्रेकअप, कागजपत्र, फूलबारी’ लगायतका फिल्ममा काम गरेकी छिन् । शिल्पाको कामको प्रशंसा फिल्मीकर्मीबाट त भयो, तर दर्शकले फिल्म नहेर्दा उनलाई असफल नायिकाको ट्याग लाग्न भने छाडेको छैन । 

यो बर्ष नायिका जसिता गुरुङको पनि सुखद बन्न पाएन । उनले अभिनय गरेको फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ बक्स अफिसमा चिप्लियो । फिल्म बक्स अफिसमा चिप्लदा जसिताको कामको भने तारिफ भएको थियो । फिल्मका लागि उनले निकै मिहिनेत गरेकी थिइन् । डान्समा पनि जसिताको गज्जबको काम देखिएको थियो । तर, फिल्म नचलेपछि कलाकारलाई ठूलो घाटा लाग्छ । 

जसिता यो अर्थमा अनलक्की ठहरिइन् । एक त फिल्म रिलिज हुन लामो समय लाग्यो, अर्कोतिर बक्स अफिसमा चलेन । यसले जसिताको करिअरलाई धक्का दियो । जसितालाई पहिलो फिल्म ‘लिलिबिली’बाट डेब्यू गर्दा नेपाली फिल्मकी संभावना बोकेकी नायिकाको रुपमा हेरिएको थियो । तर, फिल्म नचल्दा उनका लागि समस्या बनिरहेको छ । 

नायिका दिया पुन पनि फिल्म क्षेत्रमा अनलक्की नै हुन् । किनकी, दियाको ‘अन्तिम संस्कार’ले पनि बक्स अफिसमा खराब व्यापार गर्यो । दियाको अभिनयको पनि राम्रो तारिफ हुने गर्दछ । तर, फिल्म नै नचलेपछि उनी पनि यो क्षेत्रमा स्थापित हुन सकेकी छैनन् । 

कलाकारका लागि फिल्म नचल्दा हुने तनाव निकै ठूलो छ । अझ, उत्कृष्ट काम गरेर पनि फिल्मको व्यापार नहुँदा कलाकारहरुलाई समस्या हुने गरेको छ ।