करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

भदौको १ गतेबाट रिलिज हुन लागेको फिल्म ‘हिँड्दा हिँड्दै’ नायक आकाश श्रेष्ठको करिअर जोडिएको फिल्म हो । यो फिल्म चलाउनुपर्ने दबाब पनि आकाशकै काधमा छ । यदि यो फिल्म पनि चलेन भने आकाशलाई निर्माताले नपत्याउने निश्चित छ । उसो त उनलाई अहिले पनि निर्माताले पत्याएका छैनन् । अधिकांश नायकहरुको हातमा फिल्म नै फिल्म भएको समयमा आकाश पनि खाली छन् । 

यसैले, पनि यो फिल्मको इनिसियल व्यापारका लागि आकाशले मिहिनेत गर्नुपर्ने हो । तर, फिल्म रिलिजको मिति नजिकिदै गर्दा पनि आकाश मौन छन् । 

फिल्ममा सलोन बस्नेत पनि मुख्य भूमिकामा छन् । तर, सलोनले भदौको ८ गतेबाट रिलिज हुन लागेको फिल्म ‘जय हो’का लागि पूर्ण समय दिइरहेका छन् । यसैले पनि आकाशका लागि नै यो फिल्म महत्वपूर्ण देखिएको छ । 

तर, फिल्मको छायांकनको समयदेखि नै यो फिल्मका लागि खासै समय नदिएका आकाशले प्रचारमा पनि ध्यान दिएका छैनन् । उसो त, निर्माणपक्षले पनि आकाशलाई प्रचारका लागि आग्रह नगरेको हो कि ?