दया र मिरुना लिन निर्माता-निर्देशकको हानथाप, आखिर किन हुन्छ त यस्तो ?

फिल्म निर्माताहरूबीच यतिबेला अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरलाई आफ्नो फिल्ममा जोडी बनाउने होड चलेको छ।

हालसम्म रिलिज भएका र उनीहरू अनुबन्धित भएको फिल्मको संख्या हेर्ने हो भने ५ फिल्ममा उनीहरू जोडी बनिसकेका छन्। 

यसो हुनुको पछाडि उनीहरु अभिनित ‘कबड्डी ४’ र ‘जारी’को सफलतालाई मुख्य कारक ठानिएको छ। 

यो जोडी अभिनित तेश्रो फिल्म ‘नांगो गाउँ’ भदौ २९ मा आउँदैछ भने ‘रंगेली ग्याङस्टर’ र 'घर ज्वाइँ' फ्लोरमा जाने अन्तिम तयारीमा छन् । यो सँगै केहि निर्माताहरु उनीहरुलाई एकसाथ फिल्ममा लिन प्रयासरत रहेको बुझिएको छ । 

हालको समयमा नेपालको घरेलु बक्सअफिस र डायोस्पोरामा दायाहाङ विकाउ स्टार हुन् । उनी माथि पैसा हाल्न ओभरसिज बजार, वितरक र डिजिटल खरिदकर्ताहरु सजिलै तयार भइरहेका छन् । 

यो सँगै जोडी सुहाएका कारण मिरुना पनि दयाको जोडीका रुपमा उतिकै डिमाण्डेड भइरहेकी छिन् । यसमा उनको अभिनय क्षमताले दयासँग जोडी बाँध्न थप सहयोग गरिरहेको छ ।

नेपाली फिल्म नगरीमा यो दृश्य नौलो होइन विगतलाई फर्केर हेर्ने हो भने विभिन्न समयमा महानायक राजेश हमालले विभिन्न अभिनेत्रीसँग  हिट जोडी बनेर दर्जनौ फिल्ममा अभिनय गरेका थिए।

राजेशले एक समय करिस्मा मान्नधरसँग तथा कृष्टी मैनालीसँग थुप्रै फिल्ममा काम गरे भने त्यसपछिको अर्को समयमा विपना थापा, रेखा थापा, जल शाह लगायतका अभिनेत्रीहरूसँग थुप्रै हिट जोडी बनेर काम गरे।

यहाँ दया र राजेशको एउटा अर्को संयोग पनि जोडिएको छ।

निर्देशक नविन सुब्बाका अनुसार नेपाली फिल्ममा दयाहाङको प्रवेशले फरक कुराको संकेत गरेको भएपनि वर्तमानमा उनी राजेश हमालका पुनरावृत्ति हुन्।

एकसमय राजेशलाई जस्तै अहिले दयालाई फिल्म खेल्न भ्याइन्भ्याइ छ। उनको व्यस्तता र फिल्मको बढ्दो संख्या र ती संख्याका समान गुणले  गर्दा निर्देशक सुब्बाले दयालाई राजेश हमालको पुनरावृत्ति भनेर आलोचना गर्ने गरेका हुन्।

त्यसो त परम्परागत हिरोको अनुहार व्याख्या भन्दा फरक कित्ताका अभिनेता हुन दया । राजेश युगमा दयाको अनुहार र शारिरिक शैली फिल्मको हिरोको परिभाषामा एक रत्ति पर्दैनथियो। समयक्रमसँग जब कथानक नायक हुँदै गयो तब अभिनयमा पोख्त अनुहारहरु नेपाली फिल्मका बिकाउ अनुहार बन्दै गए। यसले दया जस्ता अभिनेता युग सुरु भयो, जुन सकारात्मक पनि हो।
यस्तोमा मिरुनासँग कसिएको जोडीले राजेशका ती समयको पुनरावृत्ति भइरहेको देखाउँछ।

नेपाली फिल्म बजारले किन जोडीलाई दोहोर्याउन लालायित भइरहेको छ त ? 

निर्देशक घनश्याम लामिछानेको विचारमा बजार प्रधान यो उद्योगमा उनीहरुको जोडी दोहोरिनुको पछाडिको एक मात्र उद्देश्य पैसा कमाउनु हो।

निर्देशक लामिछाने भन्छन्- 'यसरी जोडी चलेपनि दोहोर्राउने चलन आजको मात्रै हैन पहिले देखिनै हो । त्यो भनेको बलेको आगो ताप्ने र जता खोलो बग्छ उतै बग्छन् निर्माताहरू । पहिला हिरो हिरोइन चल्यो भने, फिल्ममा दाजु भाइ चल्यो भने दाजुभाइ रोलका लागि तिनै कलाकार लिने र हिरो र भिलेन चले भने पनि दोहोर्राउने चलन छ । यो भनेको पैसा कमाउनकै लागि हो ।' 

त्यस्तै रंग पत्रकार तथा लेखक सामीप्यराज तिमल्सेनाको भनाइ पनि निर्देशक लामिछानेको जस्तै छ। उनको नजरमा यो शैली फिल्म चल्दासम्म जारी हुने गर्छ।

यसरी जोडी लिइनुमा बिजनेस प्रस्पेटिभलाई हेर्ने गरिएको छ । एक हिसाबले जोडी हिट भएपछि बक्सअफिसमा दर्शक आउँछन् र व्यापारमा सफल भइन्छ भन्ने छु, उनले भने,  'विशेष गरि फिल्म विकाउ फाइदाकालगि एउटा जोडी हिट भइसकेपछि प्रेरित हुन्छन् निर्माता र निर्देशकहरू । फिल्मको कथा बस्तु राम्रो भए मात्र हो । यसमा सधै सफल भइन्छ भन्ने छैन ।'

फिल्म वितरक मनोज राठी पनि यस्तै भन्छन्।

'निर्माताहरुमा यसरी जोडी लिइयो भने व्यापारमा सफल हुइन्छ भन्ने छ । तर सधै सफल नहुन पनि सक्छ। यस्तो चलन नेपालमा मात्र नभएर बलिउडमै पनि छ। हिट जोडीको निरन्तरता समय समयको अन्तरालमा दिन सकियो र कन्टेन्ट राम्रो हुन सक्यो भने मात्र सफल भइएला । तर एउटा हिट पछि अर्को निरनतरता सफल हुने कुरा रेयर नै हो', राठीले भने।

अब यस्तोमा दयाहाङ र मिरुनाको जोडीको यात्रा कति लामो हुने छ त्यो समयक्रममा रिलिज हुने उनीहरुका फिल्मले देखाउने नै छ।