के प्रकाश सपुत नेपालका ‘सुपरस्टार’ हुन् ?

गायक प्रकाश सपुतले सार्वजनिक गरेका गीतहरू एकपछि अर्को रुपमा जति चर्चित छन्, त्यति नै आलोचित पनि छन् । प्रकाशले विशेष गरि, आफ्नो गीतलाई व्यापारीकरण गरेको आरोप पनि लाग्दै आएको छ । उनै, सपुतलाई भारतीय योग बाबा रामदेवले बलिउडका मेघास्टारहरु साहरुख खान, सलमान खान, आमिर खानसँग तुलना गरे । सपुत नेपालमा साहरुख, सलमान र आमिर भन्दा पनि ठूलो स्टार भएको भन्दै रामदेवले प्रशंसा गरे । 

रामदेवले यसरी प्रशंसा गर्दै गर्दा सपुत मुस्कुराए । रामदेवको प्रशंसालाई सपुतले सहर्ष स्विकार पनि गरे । सपुत आफैले पनि आफूलाई नेपालको ‘सुपरस्टार’को रुपमा हेर्न थालेको उनको शैलीबाट प्रष्ट हुन्थ्यो । 

‘यी नेपालका सलमान खान, शाहरुख खान, अमिर खानभन्दा ठूला स्टार हुन् । तिमी आफ्नो काममा पूरै निष्ठावान छौ, सयमा सय नम्बर दिन्छु प्रकाश भाइलाई, जोडदार अभिनन्दन यी बच्चालाई,’ सपुतको प्रशंसा गर्दै रामदेवले भनेका छन् ।

एउटा कुरा पक्का के हो भने, प्रकाश नेपालका चर्चित गायक हुन् । उनका सिर्जनाले विगत केही वर्षदेखि दर्शकको राम्रो साथ पाइरहेका छन् । यसो भन्दै गर्दा अर्को कुरा पनि के सत्य हो भने, उनका गीतसंगीतमा व्यापारीकरण पनि गज्जबले देखिन्छ । भिडियो र गीतलाई बिकाउन उनले प्रयोग गर्ने संवाद र दृश्यहरू आम मानिसका लागि त्यति पाच्य पनि भएको पाइँदैन । 

हालै, उनले सार्वजनिक गरेको ‘जाले रुमाल फाट्यो’ बोलको गीतमा प्रयोग गरिएको संवादले व्यापक आलोचना पाएपछि उनले उक्त संवाद नै हटाउनु परेको थियो । 

उनले, दृश्य र संवाद विवादित भएपछि बारम्बार सेन्सर गर्नु परेको वा भिडियो नै हटाउनुपरेको यो पहिलो पटक पनि होइन । 

सपुतलाई केही बर्ष अगाडि गीतको लय नै चोरेको आरोप समेत लागेको थियो । यसरी हेर्दा, गायक सपुतलाई बाबा रामदेवले माहोल बनाइदिएका लागि दिल्लीमा आयोजित एक कार्यक्रममा बलिउडका सुपरस्टारहरुसँग तुलना त गरिदिएका छन् । तर, प्रकाशले यसलाई सहर्ष स्विकार गर्नु आफैंमा अचम्म लाग्दो देखिन्छ ।